विराटनगर । मोरङको विराटनगर, बेलबारी र सुनसरीको धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । हिजो लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट चेकजाँचको क्रममा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको को ६ प ९६ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैँचा नगरपालिका-१२ का ३० वर्षीय शङ्कर दाहाल र २५ वर्षीय नन्दु फुँयाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट प्रहरीले २ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-२ लालभित्तीका १८ वर्षीय शुसिल रेग्मीलाई पक्राउ गरेको हो । उनको साथबाट ११० ट्याब्लेट प्रतिबन्धित लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ का ३१ वर्षीय पर्वत दर्जी र २६ वर्षीय सनम तामाङलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।