संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशसहित देशका धेरै ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारसम्म लगातार पानी पर्ने सम्भावना छ ।

विभागले हिजो नै जारी गरेको मौसम बुलेटिनमा धेरै स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।  बुलेटिनमा कोशी प्रदेशका ११ जिल्ला उच्च जोखिममा रहेको उल्लेख छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङलाई उच्च जोखिममा राखिएको छ ।

Advertisement

ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुलाई भने मध्यम जोखिममा राखिएको छ । मधेश प्रदेशका तीन जिल्लालाई उच्च जोखिममा राखिएको छ भने पाँच जिल्लालाई मध्यम जोखिम उल्लेख गरिएको छ ।

बागमतीका १२ जिल्ला उच्च जोखिममा छन् भने एउटा जिल्लालाई मध्यम जोखिममा राखिएको छ । गण्डकीका १० जिल्ला उच्च जोखिममा हुँदा एउटा जिल्ला मध्यम जोखिममा रहेको छ ।

यस्तै लुम्बिनीका १२ जिल्ला उच्च जोखिममा छन् । कर्णालीका पाँच जिल्ला उच्च जोखिममा हुँदा तीन जिल्ला मध्यम जोखिममा छन् । सुदूरपश्चिमका तीन जिल्ला उच्च जोखिममा हुँदा ६ जिल्ला मध्यम जोखिममा छन् ।

यस्तो छ भोलिको मौसम

भोलि (शुक्रबार) देशभर बदली रही हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तराइका केही स्थानमा हावाहुरी समेत चल्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित अतिभारी वर्षाको सम्भावना छ ।

शनिबार यस्तो रहनेछ

शनिबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारीदेखी धेरै भारी वर्षाको सम्भावना  छ ।

लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । आइतबार पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

सचेत रहन आग्रह
वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सचेत रहन विभागले अनुरोध गरेको छ । रातको समयमा बढी पानी पर्ने सम्भावना भएकाले डुबानको जोखिम रहेका क्षेत्र, नदी तथा खोला आसपास क्षेत्रमा बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ । यस्तै बाढी पहिरोको जोखिम पनि भएकाले अनावश्यक यात्रा नगर्न पनि सचेत गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!