इलाम । इलाममा धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या पछि पतिले पनि झुन्डिएर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेमा ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् ।
‘पत्निको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरसँग भने, ‘पतिको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’
आज बिहान जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको स्थिति हेर्दा घटना हिजो नै भएको हुनसक्ने डीएसपी राई बताए ।
‘पति पत्नि मात्रै घरमा बस्दै आएका रहेछन्,’ डीएसपी राईले संगालोखबरसँग भने, ‘पतिमा मानसिक समस्या थियो भन्ने स्थानीयबाट बुझ्नमा आएको छ । धेरै कुरा थाहा भएको छैन ।’
पत्नीको शव घरबाट केही तल फेला परेको छ भने पतिको शव पनि नजिकै झुण्डिएको अवस्थामा फेला परेको राईले जानकारी दिए ।अहिले दुवै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा लगिएको प्रवक्ता राईले बताए ।
उनीहरूको जेठो छोरा वैदेशिक रोजगारीमा छन् भने कान्छो छोरो केहिदिन अघि फुपूको घरमा गएको खुलेको राईले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी छ भने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।