धनकुटा । सरकारले बहिरा (सुनाइसम्बन्धि अपाङ्गता) भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सेवा सुविधा तथा कुनै भरपर्दो कार्यक्रम नल्याएको सरोकारवालाले बताएका छन् ।
७ औं साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसका अवसरमा आज धनकुटामा बहिरा संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । सरकारले बहिरा व्यक्तिहरूका लागि सीपमुलक कार्यक्रम ल्याउनु पर्नेमा उनीहरूले जोड दिए ।
‘सरकारले हाम्रा लागि केही पनि नगरेको अनुभुति हुन्छ’, धनकुटा बहिरा सङ्घका अध्यक्ष खेमचन्द्र थापाले साङ्केतिक भाषा मार्फत भने, ‘नसुन्ने भएपछि सबैले हेप्छन् । हामीले धेरै कुराबाट पछि पर्नु परेको छ । यसमा सरकारले ध्यान दिन आवश्यक छ ।’
उनले साङ्केतिक भाषाबाट व्यक्त गरेको कुरालाई दोभाषे मुना राईले सबैसामु प्रस्तुत गरेकी थिइन् । बहिराहरूका लागि यातायातमा भाडा समेत छुटको व्यवस्था नभएको उनीहरूको गुनासो छ ।
कार्यक्रममा बोल्दै धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बहिराहरूका लागि यातायातमा सहुलियत प्रदान गर्न सहजिकरण गर्ने बताए ।
सरोकारवाला निकाय, ट्राफिक प्रहरी, जनप्रतिनिधि र यातायात व्यवसायीहरूसँग यस विषयमा छलफल गर्ने उनले उल्लेख गरे । मानव अधिकार, सामाजिक सचेतना तथा विकास केन्द्र हुसाडेक नेपालका अध्यक्ष सरोजकुमार भुजेलले बहिरा बालिकाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।
बहिरा बालिकाहरूलाई यौन दुव्र्यबहार भएको खण्डमा सम्बन्धित निकायमा पुगेर आफ्ना कुरा राख्न सक्ने वातावरण तयार गर्न विशेष कार्यक्रम ल्याउँनुपर्नेमा उनले जोड दिए ।
‘साङ्केतिक भाषा अधिकारको लागि सङ्केत गरौँ’ भन्ने मूल नाराका साथ साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवस तथा बहिरा सप्ताह मनाइएको छ ।