धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा धनकुटामा वृक्षरोपण गरिएको छ । आज डिभिजन वन कार्यालय र सामुदायिक वन महासङ्घ धनकुटाको संयोजनमा वृक्षरोपण तथा गतवर्ष रोपिएका बिरुवामा गोडमेल गर्दै मलजल गरिएको हो ।
धनकुटा नगरपालिका-६ स्थित हाडिखर्क सामुदायिक वनमा गतवर्ष रोपिएका बिरुवाको गोडमेल तथा मलजल गरिएको छ । हरेक वर्ष बिरुवा रोपिए पनि संरक्षण नभएको गुनासो बढेसँगै यसवर्ष रोपिएका बिरुवाको संरक्षणमा पनि जोड दिइएको डिभिजन वन कार्यालय धनकुटाले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालय तथा सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
सोही अवसरमा आज अपरान्ह कर्मचारी र जनप्रतिनिधिबीच मैत्रिपूर्ण फुटबल हुनेछ । यसैगरी भोलि धनकुटा बसपार्कदेखि सामुदायिक भवनसम्म प्रभातफेरी साथै अन्तरक्रिया कार्यक्रम राखिएको छ ।