सन्तोष सुवेदी/संगालोखबर
धनकुटा जिल्ला अस्पताल । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ का ३० वर्षीय विजय दर्जीले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा दर्जीले २५ वर्षीया सरिता दर्जीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजेको समयमा विजयले पत्नीमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले संगालोखबरसँग भने, ‘पत्नी गर्भवती भएको भन्ने बुझिएको छ । पत्नीलाई खुकुरी प्रहार गरेपछि विजयले आफैँलाई खुकुरी प्रहार गरेका रहेछन् । थप कुरा अनुसन्धानबाट खुल्छ ।’

Advertisement

गम्भिर घाइते रहेकी उनको उपचारका लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । विजयले पत्नीको पाखुरा र पेटमा खुकुरी प्रहार गरेका थिए । पत्नीको हत्यापछि विजयले सोही खुकुरी आफ्नो पेटमा प्रहार गरेको खुलेको डीएसपी महर्जनले जानकारी दिए ।

विजयको आन्द्रा बाहिर निक्लिएको र थप उपचारका लागि जिल्ला अस्पताल धनकुटाबाट धरानस्थित घोपा लगिएको छ । विजयले छिमेकीलाई आफूले श्रीमतीको हत्या गरेको र आफू पनि मरे भन्दै हिँडेका थिए ।

दुवै जना घाइते देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । सरिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । छिमेकीका अनुसार विजयको मानसिक अवस्था ठीक नभएको र मदिरा सेवन गरेर पत्नीको हत्या गरेको बुझिएको छ । उनीहरूका ११ र ५ वर्षका दुई छोरीहरू रहेको बुझिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!