संगालोखबर

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्न थालिएको हो ।

Advertisement

पाख्रीवास र महालक्ष्मीमा सङ्गठन कमिटी निर्माण भइसकेको छ । अब, छथर जोरपाटी, साँगुरीगढी, चौबिसे, सहिदभूमि र धनकुटा नगरमा सङ्गठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए । सङ्गठन कमिटी निर्माणका लागि एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राईको नेतृत्वमा नेताहरु पालिका–पालिका पुगिरहेका छन् ।

केन्द्रिय सदस्य सकुन्तला बस्नेत, प्रदेश सचिवालय सदस्य गणेश राई, जिल्ला अध्यक्ष शिव आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिव पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मासहितका नेताहरू सङ्गठन कमिटी निर्माणको अभियानमा जुटिरहेका छन् । अन्य केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य  र जिल्ला कमिटीका नेताहरू पनि गाउँ–गाउँ पुगिरहेका छन् ।

गत मङ्गलबार पाख्रीवास नगरमा सङ्गठन कमिटी निर्माण गरिएको छ । नगर कमिटी अध्यक्ष शान्तिराम गौतम जिल्ला कमिटीमा मनोनित भएकाले सिताराम राईको नेतृत्वमा सङ्गठन कमिटी निर्माण गरिएको हो । महालक्ष्मीमा शुक्रबार सङ्गठन कमिटी बनाइएको छ । निवर्तमान नगर कमिटी अध्यक्ष किरण गिरीले नै संगठन कमिटी अध्यक्षको जिम्मेवारी पाएका छन् ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सङ्गठन कमिटी घोषणा गरे । केन्द्रिय सदस्य राजेन्द्र राईले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सो क्रममा बोल्दै एमाले केन्द्रिय सदस्य राईले एमालेमय बनाउने गरी अभियानमा जुट्न सबैलाई आग्रह गरे । उनले तोकिएको जिम्मेवारी अनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

शनिवार छथर जोरपाटी, आइतबार चौबिसे र सोमबार साँगुरीगढीमा पालिका कमिटी निर्माण गरिदैछ । असोज २ गते धनकुटा नगर र ७ गते सहिदभूमिमा सङ्गठन कमिटी निर्माण गर्ने एमालेको योजना छ । तत्कालका लागि सङ्गठन कमिटी बनाइएको भएपनि आगामी मंसिर महिनाभित्र सात वटै पालिका कमिटीको अधिवेशन सम्पन्न गरिने एमाले जिल्ला सचिव एवं सङ्गठन विभाग प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!