संगालोखबर


विराटनगर । निरन्तरको वर्षाका कारण खोटाङमा पहिरो खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले मोटरसाइकल वर्कसप र पेट्रोल पम्पमा पनि क्षति पुर्याएको छ । बुधबार रातिदेखि परेको पानीका कारण ऐंसेलुखर्क गाउँपालिकाको बजार क्षेत्र र अन्य स्थानमा पनि पहिरोले सडक अवरुद्ध भएको हो ।

खोटाङ र भोजपुर जोड्ने भालुखोला सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डमा झरेको पहिरो हटाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

पहिरोले दिक्तेल रत्नपार्कमा मोटरसाइकल वर्कसपमा पनि क्षति पुर्याएको हो । दिक्तेल रूपाकोट मझुवागढी-१ रत्नपार्क स्थित खोलामा आएको बाढी आसपासका घरहरूमा पसेको छ ।

सो स्थानमा प्रहरी टोलीले खोलाको पानीलाई कटाउनुका साथै वर्कसपमा रहेका जिन्सी सामानहरू सुरक्षित स्थानमा सारेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । कार्कीका अनुसार दिक्तेल रूपाकोट मझुवागढी-३ मा रहेको पेट्रोल पम्पमा पनि पहिरोले क्षति पुर्याएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

ओखलढुङ्गामा पनि सडक अवरुद्ध

उता ओखलढुङ्गामा पनि पहिरोले सडक अवरुद्ध पारेको छ । अविरल वर्षाका कारण पहिरो खस्दा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–२ धुसेनी स्थित खानी भञ्ज्याङ-ओखलढुङ्गा सडक अवरुद्ध भएको हो ।

सो स्थानमा सडकमाथिबाट अहिले पनि पहिरो झरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!