सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा तरकारी उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषकहरू व्यवसायिक कृषि कर्ममा लाग्ने क्रम बढेपछि तरकारी उत्पादन वृद्धि भएको पाइएको हो ।

Advertisement

गत आर्थिक वर्ष १ लाख ३७ हजार ४ सय ४८ मेट्रिकटन तरकारी उत्पादन भएको छ । त्यस अघिको वर्ष १ लाख ३३ हजार ५ सय ९५ दशमलव ५० मेट्रिक टन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा धनकुटा कोशी पहाडी जिल्लामै अग्रस्थानमा देखिएको छ । तरकारी उत्पादनको यो परिमाण कोशी पहाडका भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्लाको तुलनामा बढी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिए ।

धनकुटामा किसानहरूले व्यवसायिक रुपमा बन्दाकोपी, काउली, गोलभेँडा, मुला, रायो साग लगायत तरकारी लगाउने गरेका छन् । उत्पादन भएको ९० प्रतिशत तरकारी जिल्लाबाहिर निर्यात हुने गरेको छ । धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोड तथा भारत, बङ्गलादेश र भुटानसम्म तरकारी निर्यात हुने गरेको छ ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष गोलभेँडा ५६ हजार ४ सय ३० मेट्रिकटन, बन्दा ३९ हजार ९ सय ९० मेट्रिकटन, फूलकोपी ११ हजार ७ सय ४६ मेट्रिकटन, मुला १० हजार १ सय ७८ मेट्रिकटन उत्पादन भएको छ ।

छथर जोरपाटी र महालक्ष्मीको अधिकांश क्षेत्र तथा धनकुटा नगर र पाख्रीबासको केही क्षेत्रमा तरकारी उत्पादन हुने गरेको छ । पछिल्लो समय व्यवसायिक तरकारी खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा व्यवसायिक तरकारी खेतीमा लागेका छन् । जिल्लाको कुल जनसङ्ख्याको ४० प्रतिशत मानिस व्यवसायिक कृषि कर्ममा संलग्न रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!