संगालोखबर
फाइल तस्बिर

भोजपुर । भोजपुरमा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो । चरन क्षेत्र अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको किसान बताउँछन् ।

दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताए । पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उनको भनाइ छ । आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चौंरीपालनतर्फ आकर्षण घट्दै गएको उनी बताउँछन् ।

Advertisement

सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताए । चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उनको भनाइ छ । ‘चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ’, किसान राईले भने, ‘तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ । चरन अभाव हुँदा व्यवसाय नै संकटमा पर्ने अवस्था छ ।’

यो व्यवसायबाट वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने राईको भनाइ छ । ‘व्यावसायिक चौँरीपालनमा धेरै चुनौती छन्’, राईले भने, ‘लेकाली भेगमा पालन गर्नुपर्ने व्यवसाय भएकाले दुःखकष्ट धेरै सामना गर्नुपर्छ । आम्दानी राम्रो हुने भए पनि पछिल्लो समय धेरैले यो व्यवसाय छाडेको अवस्था छ ।’

चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताए । नौनी घ्यू गोठबाट धार्नीको २ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!