मोहन ढकाल/संगालोखबर

विराटनगर । कुनै समय विराटनगरमा रिक्साको चल्ती थियो । छोटो दूरीको यात्रा रिक्सामै सहज हुन्थ्यो । घामपानी केही नभनी रोजिरोटीका लागि यात्रु ओसारपसारमा रिक्सा चालक खटिन्थे । विराटनगर मात्र नभएर नेपालका अन्य सहरहरू विशेषगरी तराइका जिल्लामा रिक्सा महत्वपूर्ण साधन थियो ।

Advertisement

समयसँगै प्रविधिले फड्को मार्दै जाँदा पाइडलवाला रिक्सा हराइसकेका छन् भने इ–रिक्सा अर्थात सिटी सफारीको संख्या थपिएको थपियै छ । जसले सहरलाई अस्तव्यस्त मात्र बनाएको छैन, दुर्घटना पनि बढाइरहेको छ । विराटनगरमा दैनिक कति सिटी सफारी सञ्चालन हुन्छन् ? कुनकुन स्थानबाट विराटनगरमा सफारी आइरहेका छन् ? यकिन तथ्याङ्क भने छैन ।

अत्यधिक सिटी सफारीका कारण सडक अस्तव्यस्त र दुर्घटना पनि बढिरहेको अवस्था छ । ट्राफिक ज्ञानको कमी, जहाँ मन लाग्यो त्यहीँ रोक्ने, घुमाउने लगायतका कारण सफारीका कारण चुनौती पनि त्यत्तिकै थपिएका छन् । विराटनगर महानगरपालिकाले यसको लागि छुट्टै कार्यविधि बनाए पनि कार्यान्वयन गर्न भने सकेको छैन । पुनः सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई सहज बनाउन  ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्न लागेको हो । कार्यान्वयन हुन्छ, हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

विराटनगरमा दैनिक कति सिटी सफारी गुड्छन् भन्ने यकिन तथ्याङ्क छैन । महानगरका नगर प्रहरी प्रमुख राजन पौडेल भन्छन्, ‘यति नै सङ्ख्यामा सिटी सफारी छन् भन्ने तथ्याङ्क त छैन । तर पनि महानगरमा १५ हजारको हाराहारीमा दैनिक सफारी सञ्चालन हुन्छन् भन्ने अनुमान छ ।’

पौडेलका अनुसार महानगरमा हालसम्म २ हजारको हाराहारीमा मात्रै सिटी सफारी दर्ता भएका छन् । महानगरपालिकाले सिटी सफारी दर्ताको समय भदौसम्म राखेको छ । नगर प्रहरी प्रमुख पौडेलले अवस्था हेरेर समय थप गर्न सकिने पनि जानकारी दिए ।

यस्तो छ नयाँ नियम

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार भदौ १२ गते बिहीबारबाट विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरिँदै छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपानेका अनुसार भोलिबाट कोशी राजमार्गमा सिटी सफारी गुड्न निषेध गरिने छ । यो नियम रानीदेखि ढाटसम्मको एरियामा लागू हुनेछ । सफारी संख्या दिनहुँ बढिरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गर्न लागिएको प्रमुख न्यौपाने बताउँछन् ।

उनले संगालोखबरसँग भने, ‘राजमार्ग वारिपारि गर्न केही निश्चित स्थान तोकिन्छ । यसलाई प्रभावकारी कार्यान्वयन हामी लाग्नेछौँ ।’ नयाँ नियम लागू भएपछि दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी भइरहेको उनले बताए । अन्य स्थानबाट विराटनगर भित्रने सफारीलाई नाकामै कडाइ गर्ने तयारी रहेको उनले बताए । पार्किङको लागि पनि निश्चित स्थान निर्धारण गरेर व्यवस्थित गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

महानगरका नगर प्रहरी प्रमुख पौडेल मूख्य राजमार्गमा सिटी सफारी लगायतका सवारीलाई व्यवस्थित गर्ने काम ट्राफिक प्रहरीको भएको बताउँछन् । उनले यो कार्यमा ट्राफिक प्रहरीलाई सहयोग गर्ने बताए । उनले संगालोखबरसँग भने, ‘सिटी सफारी दर्तामा ट्राफिक प्रहरीले सघाउने कुरा भएको छ । हामी चाँडोभन्दा चाँडो सबैलाई दर्ताको दायरामा ल्याउँछौँ । दर्ता प्रक्रियामा नआउँदा राजश्व असुली पनि हुन सकेको छैन ।’

प्रदेशको राजधानी, त्यसमाथि शिक्षा र स्वास्थ्यको पनि हब भएकाले बाहिरी पालिकाबाट पनि सिटी सफारी आउने गरेको उनको भनाइ छ । अत्यावश्यक बाहेक बाहिरबाट महानगर भित्रने सफारीलाई कडाइ गरिने पौडेलले बताए ।

कार्यान्वयनमा चुनौती

समयमा नै सिटी सफारीको व्यवस्थापन गर्न नसकिए यसले ठूलो जोखिम बढाउने पौडेल बताउँछन् । उनले भने, ‘दिनहुँ सङ्ख्या पनि थपिएको थपियै छन् । समयमा नै व्यवस्थापन गर्न सकिएन भने यसले ठूलो चुनौती निम्त्याउँछ ।’ पौडेलले सिटी सफारीका कारण दूर्घटना पनि बढिरहेको बताए । विराटनगर महानगरपालिकाले सिटी सफारी (इ–रिक्सा) लाई राजमार्ग क्षेत्रमा चलाउन नदिने भन्दै कार्यविधि नै बनाएको थियो । तर महानगरले यसको कार्यान्वयन पक्षलाई भने ध्यान दिन सकेको छैन ।

महानगरले करिब ७ महिनाअघि नै राजमार्गमा गुड्न र विराटनगरमा दर्ता नभएका बाहेकको सफारीलाई प्रवेशमा निषेध गरेको थियो । ‘विराटनगर यातायात व्यवस्थापन कार्यविधि २०८०’ नै बनाएर लागेको महानगर कार्यान्वयनमा भने किन चुक्यो भन्ने प्रश्न पनि उठ्छ ।

विराटनगरबासी मात्र नभएर सिटी सफारीको अस्तव्यस्तताका कारण बाहिरबाट आउने व्यक्तिलाई पनि नराम्ररी सताएको छ । विराटनगर–५ का बाबुराम सञ्जेल भन्छन्, ‘महानगरले कार्यविधि बनाएर मात्र हुँदैन । कार्यान्वयनमा पनि उत्तिकै चासो दिनुपर्छ । ट्राफिक प्रहरीले राजमार्गमा चलाउन नदिने भनेर मात्र हुँदैन । कार्यान्वयन गर्न सक्नुपर्छ ।’

ट्राफिक सचेतना आवश्यक

सफारी चालकलाई सबैभन्दा पहिला त ट्राफिक नियमसम्बन्धी जानकारी दिन आवश्यक पर्ने आवाज पहिलादेखि नै उठ्दै आएको विषय हो । तर यस विषयमा सम्बन्धित पक्षको ध्यान गएको पाइँदैन ।

जहाँ मन लाग्यो त्यहीँबाट घुमाउने, सडक अस्तव्यस्त हुनेगरी जहाँ पायो त्यहीँ रोक्ने लगायतका कारणले दुर्घटनाको जोखिम बढिरहेको स्थानीय राज दाहाल बताउँछन् । राजमार्गबाट सफारीलाई चल्न रोक लगाएपछि दुर्घटना कम हुने मोरङ ट्राफिक प्रमुख न्यौपाने बताउँछन् । यो कार्यान्वयन हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

विराटनगरमा सडक लेनबारे छैन सचेतनाः ‘डमी’ ट्राफिक, लापर्बाह चालक

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!