मोहन ढकाल/संगालोखबर

विराटनगर । प्रदेश राजधानी विराटनगरमा ६ लेन सडक विस्तार भएको लामो समय भइसकेको छ । सडकको चौडाइ बढेपनि यसको सही प्रयोग नहुँदा सवारी आवागमन अस्तव्यस्त र दुर्घटना पनि बढ्दो छ । विराटनगरको रोडशेष चोकदेखि ढाटसम्मको सडकलाई नियाल्दा दुबै तर्फको एक लेन सडक पार्किङले ढाकिएको हुन्छ । ‘पिक आवर’ मा यसले थप समस्या निम्त्याएको छ ।

Advertisement

सवारी चालकलाई लेन अनुशासनका बारेमा खासै ज्ञान समेत नभएको पाइन्छ भने ज्ञान भएपनि यसको उल्लङ्घन भइरहेको छ । यसको प्रयोग र सचेतना जगाउन ट्राफिक प्रहरीले पनि भूमिका खेलेको पाइँदैन । जसका कारण दुर्घटना पनि बढ्दो अवस्थामा छ । ट्राफिक प्रहरीले कुन सवारी साधनका लागि कुन लेन हो भन्ने विषयमा प्रभावकारी रूपमा जानकारी दिन नसक्दा पनि सडक अनुशासनको पालना भएको पाइँदैन । सिटी सफारीले यसमा थप चुनौती थपेको छ ।

विराटनगरका सुरेश मिश्र भन्छन्, ‘ट्राफिक प्रहरीले लेन अनुशासन पालना गराउन अहिलेसम्म कुनै पनि किसिमका कार्यक्रम गरको पाइँदैन । यसमा ट्राफिक प्रहरीले प्रभावकारी काम गर्न आवश्यक छ ।’ हरेक वर्ष तामझामका साथ ट्राफिक सप्ताह मनाउने गरिएको छ । तर यसले सडक अनुशासनका विषयमा चालकहरूलाई ज्ञान दिन समेत सकेको छैन । ट्राफिक सप्ताह नाम मात्रको भएको मिश्र बताउँछन् । ट्राफिक सप्ताहले दुर्घटना न्यूनीकरणमा कुनै भूमिका नखेलेको र दुर्घटना पनि बढिरहेको उनले बताए ।

मोरङमा पछिल्लो समय दुर्घटनाको ग्राफ पनि बढिरहेको छ । मोरङ जिल्लामा दुई बर्षको अवधिमा भएका दुर्घटनाको तथ्याङ्कलाई हेर्दा मात्रै स्पष्ट हुन्छ । मोरङमा आर्थिक वर्ष २०७९/८० मा भन्दा २०८०/८१ मा दुर्घटनाको सङ्ख्या ह्वात्तै बढेको छ । सबैभन्दा बढी दुर्घटना तीब्र गति र सडक लेन अनुशासनको प्रयोग नगर्दा भएका छन् । ‘सडक लेन अनुशासन पालना गराउन तथा बीच सडकमै गाडी रोकेर यात्रु चढाउने तथा ओराल्ने सवारी साधनलाई कारबाही नै हुँदैन’, ट्राफिक स्रोतले भन्यो, ‘उनीहरूलाई कारबाही गर्ने हो भने दिनहुँ एउटै गल्ती नै हुँदैन थियो । केही रकम दिन्छन् । जसका कारण नियम उल्लङ्घन गरेपनि नदेखेझैँ गर्नुपर्छ ।’

मोरङमा आव २०७९/८० मा १ हजार २२७ दुर्घटनाका घटना भएका थिए । जसमा १ हजार ८२४ सवारी साधन संलग्न थिए । गत आव २०८०/८१ मा यो संख्या बढेको छ । गत आवमा १ हजार ४३६ सवारी दुर्घटनामा २ हजार २०५ सवारी संलग्न थिए । दुर्घटनामा संलग्न सवारी साधनको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा अगाडि मोटरसाइकल आउँछ । २०७९/८० मा एक हजार ४८ मोटरसाइकल दुर्घटना हुँदा गत आवमा १ हजार २ सय ७५ मोटरसाइकल दुर्घटनामा परेका छन् । अन्य सवारी साधन दुर्घटनाको संख्या पनि २०७९/८० भन्दा गत आव २०८०/८१ मा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङ्कमा उल्लेख छ ।

मोरङमा दुर्घटनाबाट २०७९/८० मा ११९ जनाको मृत्यु भएको थियो । जसमा १ सय पुरुष, १३ जना महिला, ३ बालक र ३ बालिकाले ज्यान गुमाएका थिए । गत आव २०८०/८१ मा ९५ पुरुष, १५ महिला, ४ बालक र ३ बालिकासहित १ सय १७ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङ्कमा उल्लेख छ । घाइते हुनेको सङ्ख्या पनि उच्च छ । दुर्घटनाको मुख्य कारण सडक अनुशासनको प्रयोगमा लापरबाही नै भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर सुमन न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘सबैभन्दा धेरै दुर्घटना तीब्र गति र लापरबाही पूर्ण सवारी चलाउँदा भएका छन् ।’

आफ्नो लेन अनुसार सवारी नचलाउँदा दुर्घटना बढिरहेको न्यौपानेको भनाइ छ । ‘दुई पाङ्ग्रे सवारी साधन बढी जोखिममा छन्’, उनले भने, ‘तीब्र गतिका कारण धेरै क्षति हुन्छ । ओभर स्पीड सवारी चलाउँदा अनियन्त्रित भएर अन्य व्यक्तिलाई पनि दुर्घटनामा पारिरहेको घटनाहरू छन् । लेनको सही प्रयोग गरेर नियम अनुसार सवारी चलाउन आवश्यक छ ।’ यस्तै सडकको अवस्थाका कारणले पनि दुर्घटना बढिरहेको उनको ठम्याइ छ ।

सवारी चालक अनभिज्ञ

धेरै सवारी चालक लेनको विषयमा अनभिज्ञ रहेको पाइएको छ । केही चालकसँग कुरा गर्दा जताबाट चलाएपनि उस्तै त हानी भन्ने आशयको उत्तर आयो । विशेष गरी सिटी सफारी चालकलाई ट्राफिक नियमका बारेमा अनविज्ञ पाइन्छ । ट्राफिक प्रमुख न्यौपाने भन्छन्, ‘चालकले साधन अनुसारको लेन चिन्न आवश्यक छ ।’

सवारी चालक भने ट्राफिक प्रहरीले लेनका विषयमा सचेतना दिन नसकेको बताउँछन् । जनशक्ति अभावका कारण पनि लेन अनुशासन सम्बन्धी सचेतना पर्याप्त हुन नसकेको न्यौपाने स्वीकार्छन् । ‘सफारीका कारण पनि दुर्घटना बढिरहेको छ’, उनले भने, ‘६ लेनको बाटो भएपनि जेब्रा क्रस मेटिएको छ । धेरै ठाउँमा छैन । लेनको पनि प्रस्टसँग चिह्न छैन । जसका कारणले पनि समस्या भएको छ ।’ यस विषयमा पटकपटक विभिन्न निकायमा कुरा उठाइरहेको उनले बताए ।

कुन सवारीका लागि कुन लेन ?

न्यौपानेका अनुसार सबैभन्दा तीब्र गतिमा कुद्ने सवारी साधन (जस्तैः एम्बुलेन्स, दमकल, कार आदि) सडकको सबैभन्दा दाहिने बाट कुद्नुपर्छ । यस्तै, बीचको लेन केही कम गतिमा गुड्ने (जस्तैः बस, मोटरसाइकल, भेन आदि) सवारी साधनको लागि हो । सबैभन्दा गति कम भएका (जस्तैः सफारी, साइकट, ट्याक्टर आदि) सवारी साधन सबैभन्दा देब्रे (लेफ्ट) लेनबाट कुद्नुपर्ने न्यौपाने बताउँछन् ।

तर विराटनगरको सडकमा लेन अनुसार सवारी चलाएको पाइँदैन । उनले भने, ‘स्पीड धेरै हुने सवारी सबैभन्दा राइट साइडबाट कुद्ने हो । जति स्पीड कम हुन्छ, त्यस्ता सवारी लेफ्ट हुँदै जाने हो । तर चालकले लेन पालनामा ध्यान नै दिएको पाइँदैन । जनशक्ति अभावका कारण हामीले पनि सकेजति सचेतना दिन सकेका छैनौँ ।’

लेन अनुशासन पालना गराउन आफूहरूले पनि चाहेजति काम गर्न नसकेको न्यौपाने स्वीकार्छन । उनले भने, ‘हामीले पनि प्रभावकारी काम गर्न सकेका छैनौँ । तथापी हामी लागिपरिरहेका छौँ । हामी सबैले आफ्नो भेहिकल चिनेर लेन प्रयोग गर्न आवश्यक छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!