संगालोखबर

इलाम । इलामका भुवन खतिवडा र तेजकुमारी खतिवडाका दुई सन्तान छन् । उनीहरू दुवैमा अपाङ्गता छ । जेठो सन्तान भुपाल र कान्छो आलोक दुवैजनाको कम्मर चल्दैन । २३ वर्षीय आलोकको कम्मर नचल्दा एक ठाउँबाट अर्को ठाउँसम्म सर्न सक्दैनन् । अरुको सहयोग चाहिन्छ । तर उनको मेहनत उदाहरणीय छ । हालसालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उनी उत्तीर्ण भए । अहिले जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् ।

Advertisement

आलोकका दाजु २६ वर्षीय भुपालले पनि लोकसेवा आयोगले लिएको नायब सुब्बाको परीक्षामा पहिलो पत्र उत्तीर्ण गरेर त्यसपछिका परीक्षा दिइसकेका छन् । आलोकले गत वर्ष स्नातक पूरा गरेका हुन् भने दाजु भुपालले तीन वर्षअघि स्नातक सकेका हुन् । उनीहरू दुवैले इलामबाटै आफ्नो अध्ययन पूरा गरेका हुन् ।

बुबाआमा बजारमा तरकारी पसल गर्छन् । तरकारी बेचेर बुबा भुवन र आमा तेजकुमारीले आलोकलाई सरकारी सेवामा प्रवेश गराए । अपाङ्गता भएका धेरैले सामान्य अपाङ्गता हुँदा पनि माग्दै हात थापेर जीविकोपार्जन गरिरहेको अवस्थामा आलोक मेहनत गर्दा सफल भइन्छ भन्ने उदाहरण बनेका छन् । आलोकले कार्यालयमा कम्प्युटर चलाउने र दर्ता गर्ने काम गर्दै आएका छन् ।

मेहनत गर्दा सफलता मिल्ने आलोक बताउँछन् । कम्मर नचलेपछि एक ठाउँमा बसेका उनीहरू अर्काे ठाउँमा सर्न सक्दैनन् । दिशा पिसाब गराउन दुवै छोरालाई बुबाआमाको सहारा चाहिन्छ ।

कान्छो छोराले लोकसेवा पास गरी सरकारी प्रवेश गरेसँगै परिवारमा खुसी प्रवेश गरेको आमा तेजकुमारीले बताइन् । जन्मिएको करिब नौ वर्षको उमेरदेखि दुवै छोरा हिँड्न नसक्ने भएपछि बुबाआमाले ह्विल चियरको सहारामा विद्यालयसम्म लैजान्थे । दैनिक विद्यालय पुर्याउने र ल्याउने गर्दै उच्च शिक्षासमेत त्यसरी नै पढाएको बुबा भुवनले बताए ।

इलामको सन्दकपुर घर भएका उनीहरु छोराहरु हिँड्न डुल्न नसक्ने भएकाले इलाम बजारमा सरे । छोराहरूको शिक्षाका लागि भनेर लामो समय दुःख र सङ्घर्ष गर्नुपरेको उनले दुःखेसो सुनाए ।

‘उपचारका लागि नेपालका धेरै अस्पतालमा लगे पनि उपचार सम्भव भएन । ह्विल चियरमा भए पनि विद्यालय र उच्च शिक्षा हासिल गराउनुर्छ भनेर हामीले निरन्तर सङ्घर्ष गर्याैँ’, उनले भने ।

अहिले पनि बजारमा तरकारी पसल गरिरहेको भन्दै छोरालाई कार्यालय लैजाने र ल्याउने काममा बुबा दैनिक खटिनुपर्ने उनले सुनाइन् । ‘म तरकारी पसलमा बस्छु । बुबाले कान्छो छोरालाई कार्यालय छोडेर आएपछि पालैपालो गरेर घरमा भएको छोरोलाई दिसापिसाब गराउने र खान दिने गरिरहेका छौँ’, उनले भनिन् ।

गत जेठमा नियुक्त लिएर पाँचथरको अमरपुरमा हाजिर गर्न गएका आलोक इलाममा सरुवा लिएर हाल जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । अमरपुरमा हुँदा पनि चारैजनाको परिवार उतै बस्दै आएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!