मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर–७ हाटखोलाका जयकुमार राईले २०६७ देखि २०७७ सम्म वैदेशिक रोजगारीको क्रममा कतारमा बिताए । फर्किएपछि भने स्वदेशमै केही गर्ने सोच बनाए । दशक लामो वैदेशिक रोजगारबाट बिश्राम लिएर उनले २०७८ मा बोलेरो पिकअप गाडी किने । उनले इटहरी बसेर सब्जी ओसार्ने काम सुरु गरे । दैनिकी राम्रैसँग चलिरहेको थियो । तर एक दिन उनीमाथि ठूलो बज्रपात पर्यो । जसका कारण काम मात्र रोकिएन, झण्डै कारागार जानुपर्ने अवस्था आयो ।

Advertisement

कुरा, ९ कात्तिक २०८० को हो । दसैँ मनाउन घर आएका राई प्रदेश १–०४–००१ च ०११० बोलेरो पिकअप लिएर कार्यस्थल इटहरीतर्फ जाँदै थिए । सोही क्रममा गुद्रीमा मोटरसाइकलमा आएका दुईजना अन्जान मान्छेले केही सामान लिएर जानु छ उनको गाडी रोके । खाली गाडी लिएर जानुभन्दा केही भएपनि रकम आउँछ भन्ने लागेर सामान लगिदिने निधो गरे । उनीहरूले त्यसबापत ३ हजार भाडा दिने भए । उनीहरूले ‘गुडियाको पोका हो, सलकपुरसम्म पुर्‍याउनुपर्छ’ भनेका थिए ।

विराटनगर–६ सरौँचिया ठेगाना भएको ओमेक्स फेसन होजियारीको नामबाट सामानको बिल काटिएको थियो । त्यसले गर्दा उनी ढुक्क थिए । उनीसँगै अन्य दुईजना मान्छे पनि गाडीमा बसेर गन्तव्यतर्फ लम्किए । त्यहाँबाट अघि बढेको केही समयमै कन्चनबारीमा सशस्त्रका घुमुवा प्रहरीले गाडी रोके । गाडीमा भएका दुईजना फरार भए । जयकुमारलाई उनीहरू किन भागे र गाडी किन रोकेको भन्ने पत्तो भएन ।

उनी सम्झन्छन्, ‘भाग्ने मान्छेले बिल लग्न पाएनछन्, जसका कारण मैले निर्दोष हुँ भन्ने प्रमाणित गर्न पाएँ ।’ आफूलाई निर्दोष भनिरहे पनि गाडीसहित राईलाई सशस्त्र प्रहरीले लिएर गयो । उनीहरूले भने भन्दा सामान फरक रहेछ । बल्ल राईले आफूलाई तस्करले फसाएको चाल पाए ।

बिलमा १६ पोका गुडिया भनेर खुलाइएको थियो । तर त्यसमा त ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको कुर्ता सुरुवाल रहेछ । कात्तिक ९ मा पक्राउ परेका राईलाई सशस्त्र प्रहरीले गाडीसहित १० गते भन्सार कार्यालयमा बुझायो । १३ गते परिवारले ऋणपान गरेर ८ लाख ५० हजार ६ सय धरौटीमा छुटाए । तर उनको काम गर्ने बाटो भने हरायो । करिब १० महिलादेखि गाडी भन्सारमै छ ।

उनी भन्छन्, ‘बिल देखाएर सामान लोड गरेका थिए । उनीहरू भाग्दा बिल गाडीमै छाडेछन् । तर बिल झूटो रहेछ । यदि त्यही बिल नभएको भए म थप समस्यामा पर्ने रहेछु । धरौटीमा रिहा त भएँ, दैनिक गुजाराको बाटो पनि हरायो । गाडी भन्सारमा छ । फिर्ता पाइएन । घरपरिवार चलाउन मुस्किल भइसक्यो ।’

घरौटीमा छुटेपछि सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित प्रिया भनिने दुर्गादेवी घिमिरेको नाममा सामान ढुवानी भएको पत्ता लगाए । त्यसपछि स्थानीय जनप्र्रतिनिधिको रोहबरमा कागज गराएर राईलाई ५ लाख ५० हजार ६ सय रुपैयाँ दिए । विराटनगर भन्सार कार्यालयले २०८० पुस २० गते सुन्दरहरैँचा–८ की दुर्गादेवी घिमिरे र विराटनगर–१५ की गौरीदेवी साहका नाममा पक्राउ पूर्जी जारी गर्यो ।

तर उनीहरू लामो समयसम्म पक्राउ नपरेपछि मनकामना तयारी पोशाक नामको फर्म सञ्चालन गर्दै आएकी घिमिरेलाई राई परिवारले घरमै रहेको पत्ता लगाए । उनीहरू आफैँले घिमिरेलाई भदौ ३ गते पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाए । पक्राउ परेकी घिमिरे पनि हिजो बुधबार भन्सारमा धरौटी बुझाएर छुटेको स्रोतले बताएको छ । यस विषयमा बुझ्न सम्पर्क गर्दा भन्सारका सम्बन्धित व्यक्तिको फोन उठेन । सामान पठाउने ओमेक्स फेसन होजियारीकी प्रोपराइटर गौरीदेवी साह भने पक्राउ नपरेको राईले बताए ।

स्रोतका अनुसार भारतीय नागरिक मिथुन, साह र घिमिरे तस्करीमा सक्रिय छन् । उनीहरूले सशस्त्र र नेपाल प्रहरीका माथिल्लो निकायका अधिकारी र भन्सारका कर्मचारीलाई मोटो रकम बुझाएर तस्करीको लाइन चलाउँछन् । जसका कारण पनि उनीहरूलाई कारबाहीको दायरामा ल्याउन कसैले चासो देखाएको छैन । राई परिवारले घिमिरेलाई फेला पार्दा पनि उनको गोदाममा भरिभराउ सामान थियो । त्यस क्रममा आक्रमण समेत भएको उनीहरूले बताए ।

न्यायको पर्खाइमा

राईको परिवारले पत्रकार सम्मेलन मार्फत न्याय पाउनुपर्ने बताएका छन् । श्रीमती युदुमा राईले भनिन्, ‘श्रीमानलाई फसाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । हामीले जसरी पनि न्याय पाउनुपर्छ ।’ गाडी भन्सारले नछाडेका कारण घरव्यवहार चलाउन समेत समस्या भएको उनले बताइन् ।

आमा सीतादेवी राईले आफ्नो इमानदार छोरोलाई तस्करले फसाएको भन्दै न्यायको अपिल गरिन् । उनले भनिन्, ‘म पनि बिरामी छु । गाडी चलाएर छोरोले सबै घर खर्च, औषधोपचार गर्थ्यो । अहिले धेरै समस्या भएको छ । भन्सारबाट गाडी छोड्नै मान्दैनन् ।’ दोषी उम्किन नहुने र आफूले जसरी पनि न्याय पाउनुपर्ने राईले बताए । पीडित राईले भने, ‘अहिले गाडी पनि छैन । न्याय पनि पाउन सकेको छैन । जसरी पनि न्याय पाउनुपर्यो ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!