मोहन ढकाल/संगालोखबर
फाइल तस्बिर

विराटनगर । उपचार बापतको रकम बुझाउन नसक्दा चार महिनादेखि विराट नर्सिङ होममा बस्न बाध्य १६ वर्षीया मोनिका लिम्बूलाई अस्पतालले घर जान दिएको छ । ‘कोशी सुधार अभियान’ का अध्यक्ष अभिषेक गिरीको पहल तथा अस्पतालको सहयोगमा उनी घर जान पाएकी हुन् ।

बैशाख ८ गते अस्पताल भर्ना भएकी लिम्बू हप्ता दिनमा डिस्चार्ज भएपनि रकम बुझाउन नसक्दा घर जान पाएकी थिइनन् । मोरङको मधुमल्ला–७ की अप्सना लिम्बूकोमा बस्दै आएकी मोनिका मोटरसाइकल दुर्घटनामा घाइते भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

Advertisement

उनीसँगै अन्य तीनजना पनि दुर्घटनामा परेका थिए । अरु घाइते उपचारपछि रकम बुझाएर पहिला नै छुटिसकेको भएपनि मोनिका समस्यामा परेकी थिइन् । डिस्चार्ज हुँदासम्म करिब ५८ हजार बिल भएको थियो भने दैनिक २५ सय बेड चार्ज गरेर ३ लाख १८ हजारभन्दा बढीको बिल भएको थियो ।

‘कोशी सुधार अभियान’ का अध्यक्ष गिरीले समस्यामा परेको थाहा पाएपछि अस्पतालसँगको सहकार्यमा उनलाई बुधबार आफन्त अप्सना लिम्बूको जिम्मा लगाएको बताए । यता, अस्पताल प्रशासनले उनका परिवारमा मान्छे नआएका कारण पठाउन समस्या भएकाले लामो समय अस्पतालमा नै राख्न बाध्य भएको बताएको छ । उनलाई सबै रकम छुट दिएर घर पठाएको प्रशासनले जनाएको छ ।

प्रशासन प्रमुख पदम बिनाडीले भने, ‘उनका परिवारका मान्छे आएका थिएनन् । त्यसैले समस्या भएको थियो । उनका नजिकका मान्छे हौँ भनेर आउनेले पैसा लिएर आउँछौ भनेर जाने तर नआउने गरेका कारण समस्या भएको थियो ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!