सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज धनकुटामा पनि मनाइएको छ । धनकुटासहित देशका विभिन्न ठाउँमा बसोवास गर्ने नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाइरहेका छन् ।

Advertisement

गाईजात्रा पर्व विशेषगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी जात्रामा सहभागी गराउने चलन छ ।

धनकुटाको श्रीवानीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रा बजार क्षेत्रमा परिक्रमा गराइएको थियो । बजार क्षेत्रमा एक वर्षभित्र दिवङ्गत भएका २९ घर परिवारका नाममा जात्रा निकालिएको थियो ।

कृष्ण मन्दिरबाट निकालिएको जात्रा मदन चोक, कोशी ग्यास, परिचय मोड, भीमसेनथान, भीमनारायण चोक, माथिल्लो कोप्चे, हटिया, तल्लो कोप्चे हुँदै धनकुटाको तल्लो टुँडिखेल पुगेर समापन गरिएको थियो ।

बजार परिक्रमा गरिरहेका बेला सहभागीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको थियो । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतर्णी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाइन्छन् ।

गाईजात्रा पर्व विशेषगरी काठमाडौँ उपत्यका लगायत दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगरलगायत कोशी प्रदेशका विभिन्न स्थानमा मनाइएको छ । गाईजात्राका अवसरमा धनकुटामा धनकुटा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । इटहरी उपमहानगरमा पनि सार्वजनिक बिदा दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!