संगालोखबर

इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ । अध्ययनको सिलसिलामा ६ महिनाअघि विद्यार्थी भिसामा गएकी श्रेष्ठको दुई दिनअघि निधन भएको हो ।

Advertisement

उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनका फुपाजु होम श्रेष्ठले सोनुको हृदयघातका कारण निधन भएको जानकारी कोरियाबाट आएको बताए । इलाम–कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालमार्फत खबर आएको उनले बताए ।

मञ्चले सोनुको शव नेपाल पठाउन पहल गरिरहेको जनाइएको छ । कानुनी प्रक्रियापछि शव पठाउने बन्दोबस्त हुने खनालको भनाइ छ । सबै प्रक्रियाका लागि करिब १२ लाख रुपैयाँ लाग्ने भएकाले रकम जुटाउने पहल पनि भइरहेको छ ।

सोनुका बुबा लिलाकुमार श्रेष्ठ रोजगारीको सिलसिलामा केही वर्षदेखि मलेसियामा थिए । गत जेठमा उनको त्यहीँ निधन भएको थियो । उनको शव नेपाल ल्याएर दाहसंस्कार गरिएको थियो । परिवारमा सोनुका आमा, भाइ र बहिनी छन् । एकजना दिदीको भने बिहे भइसकेको छ । ४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमा खेतीपाती गर्छिन् । सोनुका भाइ कक्षा ७ मा र बहिनी कक्षा १२ मा अध्ययन छन् ।

घरमूली विदेशमै बिते । छोरी पनि विदेशमै रहँदा बितिन् । श्रेष्ठ परिवारमा लगातार पीडा थपिएको छ । अब परिवारको सम्पूर्ण जिम्मेवारी प्रतिमाको काँधमा आइलागेको सोनुका फुपाजु होमले बताए । ‘परिवारमा बज्रपात नै भएको छ, तीन महिनाको फरकमा बाबु छोरीले संसार छाडेर गए’ उनले भने ।

माई नगरपालिका वडा १ का अध्यक्ष रामबहादुर राईले परिवारसँग समन्वय गरी शव नेपाल ल्याउन पालिकाले पनि पहल गर्ने जानकारी दिए । दुःखमा परेको श्रेष्ठ परिवारलाई सक्दो सहयोग गर्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!