संगालोखबर

विराटनगर । दुर्लभ वन्यजन्तु र तिनको अंगसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र उदयपुरबाट पक्राउ परेका उनीहरूको साथबाट दुर्लभ वन्यजन्तु सालकको खपटा, विशेष प्रजातिको छेपारो लगायत बरामद गरिएको छ ।

Advertisement

मोरङको कानेपोखरी गाउँपालिका–७ मा प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्र १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार रंगेली नगरपालिका–१ बबियाका ४५ वर्षीय गगनकुमार गच्छेदार र सप्तरीको कञ्चनपुरका ३५ वर्षीय बासुदेव सरदारलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीहरुले बोकेको झोलाभित्र सालकको ८५० ग्राम खपेटा फेला परेको थियो । उनीहरूलाई थप अनुसन्धानका लागि सबडिभिजनल वन कार्यालय कानेपोखरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, कानेपोखरी–७ मा प्र १–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकलमा आइरहेका सुन्दरहरैँचा नगरपालिका–११ का ४० वर्षीय दिपक चौधरीले झोलामा लुकाएर बोकेको टोके गेको नामको दुर्लभ प्रजातिको छेपारो फेला पारिएको थियो । उक्त छेपारो सहित चौधरीलाई सबडिभिजनल बन कार्यालय मंगलवारेमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै, उदयपुरको बेलका नगरपालिका–३ रामपुर ठोक्सिलामा रहेको गिदेरी खोला बगरबाट स्थानीय कृष्णराज मगर, डिकबहादुर पूर्वछाने मगर र सप्तरीका उमेशप्रसाद चौधरीलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट सालकको ४ किलो ५८४ ग्राम खपटा बरामद गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!