मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको सय दिने कार्य प्रगति प्रस्तुत गरेका छन् । आज मुख्यमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सय दिनमा महत्वपूर्ण काम भएको दाबी गरे ।

Advertisement

उनले ६० बुँदामा आफूले गरेका महत्वपूर्ण कामलाई समेटेको उल्लेख गरे । नीति, कानुन तथा शासकीय सुधार, पर्यटन प्रवर्द्धन र पर्यावरण, सामाजिक विकास, स्वास्थ्य सेवा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन र यातायात, कृषि, उद्योग, भूमि व्यवस्था तथा उद्यमशीलता विकास, पूर्वाधार विकास र व्यवस्थापिका सबलीकरणका क्षेत्रमा महत्वपूर्ण काम भएको उनको भनाइ छ ।

उनले आफ्नो सय दिनको महत्वपूर्ण उपलब्धिमा गुनासो व्यवस्थापन पोर्टल सञ्चालनमा ल्याएको, कोशी दर्पण पत्रिका प्रकाशन गरिएको, संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माणसम्बन्धी अध्ययन कार्यदल गठन गरिएको, जङ्गल सफारी र रेडपाण्डाको प्रजनन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न गरिएको उल्लेख गरेका छन् ।

यसैगरी, प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको, विपद्बाट प्रभावितलाई अस्थायी आवाससँगै राहत उपलब्ध गराएको, ट्राफिक लाइट सञ्चालनमा ल्याएको, बृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको लगायत कामको सूची उनले प्रस्तुत गरे । फरक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइने पनि बताए । उनले कार्यबोझ थपिएको खण्डमा सङ्ख्या बढ्न सक्ने भएपनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!