संगालोखबर

सोलुखुम्बु । सोलुखुम्बुको थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे गाउँ प्रभावित बनेको छ । बाढीले उक्त गाउँका केही घरहरू बगाएको छ । सोलुखुम्बु र दोलखाको सीमा भएर बग्ने थामे खोलाको शिरमा रहेका केही हिमतालहरू फुट्दा थामे बस्तीका केही घर र होटलहरू बगाएको जनाइएको छ ।

Advertisement

थामेको बाढी दुधकोसीमा मिसिएसँगै दूधकोशी तटीय क्षेत्रमा जोखिम रहेकोले गाउँपालिकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल समेत गरेको छ ।  दूधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरूमा त्रास बढेको छ । बाढीले कति क्षति भयो भन्ने यकिन भने हुन सकेको छैन । यसबारे बुझ्ने काम भइरहेको सोलुखुम्बु प्रशासन कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढीले तीनवटा घर बगाएको छ । त्यस क्षेत्रमा रहेका केही होटलहरु तथा स्थानीय बासिन्दाका आधा दर्जनभन्दा बढी घर जोखिममा रहेको प्रहरीले जनाएको छ । हालसम्म मानवीय क्षति भए, नभएको जानकारी आइसकेको छैन । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, गृह मन्त्रालयले थामेमा आएको भीषण बाढी र त्यसबाट थामे खोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो । रक्षामन्त्री मानवीर राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!