मोहन ढकाल/संगालोखबर

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ का २३ वर्षीय देव किसुन मण्डल र १७ वर्षीया सविता मण्डल गोल्डेन हस्पिटलमा बन्धक बनेको खुलेको छ । संगालोखबरलाई प्राप्त जानकारी अनुसार उनीहरू डिस्चार्ज भएर पनि बन्धक हुनुपरेको थियो । लामो समय बन्धक भएका उनीहरू हिजो साँझ घर फर्किएका हुन् ।

Advertisement

विराटनगरको हस्पिटल चोकमा भाडामा सञ्चालित गोल्डेन हस्पिटलको विराटनगर–११ जनपथ टोलमा साउन २७ गते भव्य भवनको तामझामका साथ उद्‌घाटन भइरहँदा मण्डल दाजुबहिनी घर जाने पर्खाइमा थिए । तर कहिले घर जान पाइएला भन्ने उनीहरूमा अन्योल थियो । उनीहरू असार ५ मा हस्पिटल भर्ना भएका थिए । स्रोतका अनुसार उनीहरू हस्पिटलमा भर्ना भएको १०/१५ दिनमा नै ठीक भएर डिस्चार्ज हुने अवस्था थियो । घटना बाहिरिएपछि हिजो साँझ हस्पिटलले उनीहरूलाई घर पठाएको हस्पिटल स्रोतले जनाएको छ ।

उनीहरूका बुबा साधु मण्डलले भने, ‘हस्पिटललाई पैसा बुझाउन नसक्दा छोराछोरी अस्पतालमै बन्धक हुनुपरेको हो । बिल पनि हस्पिटलले धेरै देखाएको थियो । गरिब मान्छे त्यति धेरै पैसा ल्याउन सक्ने अवस्था पनि थिएन ।’ उनी घटना हुँदा भारतको पञ्जाबमा थिए । घरपरिवार चलाउन पञ्जाबमा काम गरिरहेका मण्डलले घर फर्किएपछि घटनाको बारेमा जानकारी पाए ।

उनले भने, ‘छिमेकमा झगडा हुँदा उनीहरूलाई चोट लागेछ । उपचारका लागि इनरुवा अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि सिटिस्क्यान लागि अन्यत्र लग्नु भने । एम्बुलेन्स चालकले गोल्डेन राम्रो हो भन्दै लिएर गएछन् ।’ अस्पताललाई ७२ हजार र फार्मेसीलाई २३ हजार गरेर लगभग एक लाख बुझाएको उनले बताए । अस्पतालले बिलमा १ लाख ८३ हजार ६ सय उल्लेख गरेको भएपनि करिब ५ लाख बुझाउन बाँकी छ भनेर आफूहरू भनेको उनले सुनाए । हिजो उनीहरूसँगै हस्पिटल पुगेका एक व्यक्तिले भने, ‘अस्पतालले उहाँहरूलाई ठग्न खोजेको रहेछ । तर उहाँहरूसँग पैसा नभएर ठग्न पाएन ।’

अस्पतालले एम्बुलेन्स चालकलाई मोटो कमिसन दिने गरेका कारण पनि विपन्न परिवार हस्पिटलबाट मर्कामा पर्ने गरेका छन् । यस विषयमा सम्बन्धित निकायले अनुगमनमा चासो नदेखाएको आम नागरिकको गुनासो छ । अस्पताल प्रशासन भने यो कुरा स्वीकार गर्दैन । तर यसको स्पष्ट जवाफ पनि दिन सकेन । प्रशासन प्रमुख जियाबुल हकले यस विषयमा आफूलाई केही जानकारी नभएको भन्दै पन्छिन खोजे ।

उनले भने, ‘म नयाँ भवनतिर हुन्छु । मलाई यस विषयमा केही जानकारी छैन ।’ उनीहरूलाई पहिलादेखि नै जान भनेको तर आफैं जान नमानेको उनले बताए । हस्पिटलले बन्धक बनाएको भन्ने कुरा आरोप मात्रै भएको र उनीहरू गइसकेकाले धेरै कुरा नबोल्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!