मोहन ढकाल/संगालोखबर

विराटनगर । प्रदेश राजधानी विराटनगरको मुख्य बजार क्षेत्रबाट करिब १० किलोमिटर दक्षिणमा अवस्थित छ, विराट राजाको दरबार क्षेत्र । विराटनगर–१८ स्थित भेडियारी बस्तीमा रहेको प्राचीन विराट राजाको दरबारलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । ऐतिहासिक सम्पदाको रूपमा परिचित यो क्षेत्रको संरक्षण र प्रवर्द्धनमा भने तीनै तहको सरकारले चासो देखाएको पाइँदैन ।

Advertisement

महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाको दरबार क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदेखाउँदा यसको अस्तित्व नै लोप हुने हो कि भन्ने चिन्ता छ । स्थानीयले यसको खोज अनुसन्धान, संरक्षण, सम्बर्द्धन र विकास लागि आफूहरूले सकेजति काम गरिरहेका छन् ।

राजा विराट र उनको दरबारप्रति अगाध मोह र अगाध विश्वास राख्ने स्थानीय आगन्तुकलाई स्वयमसेवीका रूपमा ‘गाइड’ गरिरहन्छन् । इतिहासका दृष्टिले प्रसिद्ध रहेको यो क्षेत्रमा अपेक्षाकृत ढंगले सरकारको चासो नपरेको स्थानीय अरुणकुमार यादव बताउँछन् ।

विराटनगरको नाम र सम्मानसँग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन् गरी बहुमूल्य सामग्रीको संरक्षण गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको स्थानीय राजदेव यादवको भनाइ छ । यस विषयमा सम्बन्धित निकायले चासो देखाउनुपर्ने उनी बताउँछन् ।

विराट राजाको प्राचीन दरबार क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्टिर, भीम, अर्जुन, नकुल र सहदेव र उनीहरूकी पत्नी द्रौपदी एक वर्षसम्म गुप्तबास बसेको किंबदन्ती छ ।

यो क्षेत्रमा अलग–अलग समयमा उत्खनन् हुँदा थरीथरीका पुरातात्विक सामग्रीहरू फेला परेका छन् । जसलाई संग्रहालय स्थापना गरेर संरक्षण गरिएको छ । विभिन्न क्षेत्रमा भेडियारी बस्तीवरिपरि उत्खनन् गर्दा थुप्रै पुरातात्विक अवशेषहरू फेला परेका छन् ।

उत्खनन्का बेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, शिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, ढुंगाको पिर्का र शिवलिङ्ग आकारका वस्तुहरू स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले संरक्षण गरेर राखेका छन् । जमिनको गर्भगृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिंगो विराटनगर सहरकै कथा सुनाउने महत्वपूर्ण पुरातात्विक सामग्रीहरू यादवको संग्रहालयमा सुरक्षित छन् ।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यो क्षेत्रलाई संरक्षण, सम्बर्द्धन र विकास गरेर पर्यटकीय स्थलको रूपमा अघि बढाउनुपर्ने स्थानीय राजेश्वर यादवले बताए । तर संरक्षण, सम्बर्द्धन र जगेर्नामा सम्बन्धित निकायले चासो नदेखाएकामा उनी दुःख प्रकट गर्छन् ।

करिब २८ वर्षअघि समिति बनाएर आफू नेतृत्वको संस्था दर्ता गरेका संरक्षक कमलकिशोर यादव सहितका केही स्थानीयले अहिले यसको रेखदेख गरिरहेका छन् । प्राचीन सम्पदा एवम् जमिनभित्रका बहुमूल्य वस्तु नासिने, मासिने र चोरी हुने जोखिम भएकाले यसको रेखदेखमा लागिरहेको यादवले बताए ।

स्थानीय जनप्रतिनिधि प्रदेश र संघीय सरकारले यसको संरक्षण र प्रवर्द्धनमा चासो नदेखाएको बताउँछन् । विराटनगर–१८ का जितेन साह भन्छन्, ‘विराट राजाको दरबार ब्युँताउनेगरी तीनै तहको सरकार लाग्नुपर्ने हो । तर केन्द्र र प्रदेश सरकारबाट अपेक्षाकृत काम भएको छैन ।’

विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन लामो समयदेखि कसरत गर्दै आइरहेको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाको भनाइ छ । विराट राजाको दरबार परिसरमा रहेको धरोहर पोखरी झण्डै १ करोड लागतमा निर्माण भइसकेको छ । विराट राजाको दरबारमा ऐतिहासिकता र आधुनिकताको संगम हुनेगरी काम गरिरहेको मेयर कोइरालाले बताए ।

कोशी प्रदेश सरकार पनि ऐतिहासिक विराट राजाकोे दरबारमा खोज अनुसन्धान, संरक्षण, सम्बर्द्धन र विकासमा काम गर्ने तयारीमा जुटेको छ । यसअघि प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराट राजा दबारको क्षेत्रलाई पहिचान गरी विकास गर्नेगरी बजेट विनियोजन गरेको थियो ।

संघीय सरकार मातहतको पुरातत्व विभागले यसको खोज–अनुसन्धान, संरक्षण र विकास गरिरहेकाले त्यसैमा पर्यटन प्रवर्द्धन हुनेगरी सघाउ भूमिकामा काम गरिरहेको मन्त्रालयका सचिव विशाल घिमिरेले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!