संगालोखबर

झापा । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन गरेको आरोपमा झापाका एक जनालाई पक्राउ गरेको छ । ग्रीन कार्डको लोभ देखाएर एकजना युवतीलाई मौरिसस पुर्याएको आरोपमा झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरिएको हो ।

Advertisement

२७ वर्षीया पीडित युवतीले गत असार २० गते मौरिससबाट फर्केपछि ब्युरोमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार ती युवतीलाई मासिक ७० हजार तलब हुने कुकको काम लगाइदिने र केही समयपछि ग्रीन कार्ड मिलाइदिने आश्वासन दिएर न्यौपानेले मौरिसस पठाएको पाइएको छ ।

साढे दुई लाख रुपैयाँ लिएर युवतीलाई २०८० मङ्सिरमा दिल्ली हुँदै पठाइएको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ । ती महिलालाई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा काममा लगाएको र श्रम तथा यौन शोषण समेत गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

आरोपित न्यौपानेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । पीडित युवती पोर्चुगलमा रहेको नेपालीको सहयोगमा नेपाल फिर्ता भएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!