सन्तोष सुवेदी/संगालोखबर

धनकुटा  । धनकुटाको सिधुवा प्रहरी चौकी निर्माण भएको तीन वर्ष बितिसक्दा पनि प्रयोग भएको छैन । चौकीसम्म पुग्ने सडक स्तरोन्नति र खानेपानी व्यवस्था नहुनु जस्ता कारणले चौकी सञ्चालनमा आउन नसकेको हो ।

Advertisement

छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा प्रहरी चौकी निर्माण गरिएको छ । निर्माण सम्पन्न भई २०७८ असार ६ गते उद्‌घाटन पनि भएको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले चौकी भवन उद्‌घाटन गरेका थिए ।

चौकी निर्माण भएपछि स्थानीय बासिन्दा सुरक्षाको राम्रो प्रबन्ध हुने भयो भनेर खुसी भएका थिए । बनिसकेर उद्‌घाटन पनि गरिसकेको तर सञ्चालनमा आउन नसक्दा भने स्थानीय बेखुसी छन् ।

नयाँ भवन सञ्चालनमा नआई जीर्ण बन्दै गएको स्थानीय अर्जुन घिमिरेले बताए । ‘भवन त बन्यो तर सञ्चालनमा नआउँदा जीर्ण हुन थालेको छ’ उनले भने, ‘झ्यालका सिसा फुट्न थालेका छन् भने भवनका भित्ता चर्कन थालेको छ ।’

प्रहरी चौकीको सम्पूर्ण काम सकेर उद्‌घाटन गरिएको तर खानेपानी अनि सडक समस्याका कारण सञ्चालन गर्न नसकिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए । सुविधासम्पन्न भवन बनेर प्रयोगविहीन भइरहँदा सिधुवा बजार नजिकै रहेको पुरानो र साँघुरो भवनबाट सेवा सञ्चालन भइरहेको छ । खानेपानी समस्या समाधान र चौकीसम्म पुग्ने सडक स्तरोन्नतिको लागि पहल गरिरहेको डीएसपी महर्जनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!