सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक कार्यालय अन्यत्र नसार्न स्थानीयले माग गरेका छन् । उक्त कार्यालय अन्यत्र सार्न लागिएको भन्दै उनीहरूले त्यसो नगर्न माग गर्दै सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा ज्ञापन पत्र बुझाएका हुन् ।

Advertisement

अरुण गाउँपालिका पूर्वअध्यक्ष गजेन्द्रबहादुर कार्की, स्थानीय बासिन्दा, जनप्रतिनिधि र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू सहित कार्यपालिका सदस्यहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

गाउँपालिका अध्यक्ष लगायत कार्यपालिकाका केही सदस्यहरूले प्रशासनिक कार्यालय हालको स्थानबाट करिब डेढ किलोमिटर टाढा मर्याङ्डाँडा भन्ने ठाउँमा सार्न लागेको उनीहरूको भनाइ छ ।

हाल सञ्चालन भएको अरुण गाउँपालिकाको केन्द्र ३ नम्बर वडा प्याउली बजार आसपास नै तोकिएकाले मर्याङ्डाँडा भन्ने ठाउँमा भवन बनाउँदा स्थानीयलाई समस्या हुने जनाइएको छ । हाल सञ्चालन भएको ठाउँमै सबैलाई पायक पर्ने स्थानीय नारायण घिमिरेले बताए ।

जनताको इच्छाविपरीत पालिका भवन सार्न लागिएको र त्यसलाई सच्याएर अगाडि बढ्नु पर्ने स्थानीयको भनाइ छ । आयोजना कार्यालयका लेखा अधिकृत मदनकुमार पौडेलले ज्ञापन पत्र बुझ्दै त्यसबारे माथिल्लो निकायमा जानकारी गराइने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!