संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले सूचीकृत नगरी सञ्चालित सहकारीमा कारोबार नगर्न नगरवासीलाई आग्रह गरेको छ । अन्य स्थानीय तहमा प्रधान कार्यालय भई धनकुटामा सेवा केन्द्र र शाखा कार्यालय सञ्चालन गरिरहेका सहकारीमा कारोबार गर्नु जोखिमपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

Advertisement

बारम्बार सूचना प्रकाशित गर्दापनि त्यस्ता सहकारी नगरपालिकामा सूचीकृत हुन नआएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । नगरपालिकाले यस विषयमा सूचना समेत प्रकाशन गरेको छ ।

सूचनामा भनिएको छ, ‘धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७८ को नियम ४७ अनुसार अन्य स्थानीय तहमा प्रधान कार्यालय रही धनकुटा नगरपालिकाको क्षेत्राधिकार भित्र सेवा केन्द्र र शाखा कार्यालय खोल्नुअघि कार्यालयमा निवेदन दिई अभिलेख कायम गरेर मात्र सेवा सञ्चालन गर्नुपर्नेमा नियमको विपरीत हुने गरी तथा सहकारी संस्थाको उद्देश्य विपरित सेवा केन्द्र र शाखा कार्यालय मार्फत बचत सङ्कलन तथा ऋण कारोबार गरेको पाइएको छ ।’

सहकारी संस्थाहरूसँग पटकपटक विवरण माग गर्दा समेत विवरण दिन अटेर गरिरहेका हुनाले बचत कर्तालाई त्यस्ता सहकारीकोे पहिचान गरेर कारोबार नगर्न समेत आग्रह गरिएको अधिकृत अधिकारीले जानकारी दिए । नगरपालिकाले अन्य स्थानीय तहमा प्रधान कार्यालय भई धनकुटा नगरपालिकामा सेवा केन्द्र र शाखा कार्यालय सञ्चालन गर्न इच्छुक सहकारी संस्थाहरूलाई कार्यालयमा अभिलेख कायम गराई संस्थाको उद्देश्य अनुसार सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।

आर्थिक विकास अधिकृत अधिकारीका अनुसार अन्य स्थानमा प्रधान कार्यालय भएका तीनवटा सहकारी मात्रै नगरपालिकामा सूचिकृत भएका छन् । उनले संगालोखबरसँग भने, ‘हामीसँग त्यस्ता तीनवटा सहकारी मात्रै सूचिकृत हुन आएका छन् । नगरपालिकाभित्र त्यस्ता सहकारी कति छन् भन्ने तथ्याङ्क नै छैन । उनीहरू दर्ता हुन नआएका कारण यकिन तथ्याङ्क नै छैन ।’

उनले कतिपय सहकारीले उद्देश्य एउटा तर काम भने फरक गरिरहेको समेत पाइएको उल्लेख गरे । ऐनविपरीत चलिरहेका त्यस्ता सहकारीबाट बचतकर्ताको रकम डुब्ने खतरामा परेकाले नगरपालिकाले यस विषयमा गम्भीरताका साथ लागेको उनले जनाए ।

उनले भने, ‘त्यस्ता सहकारीको प्रधान कार्यालय कहाँ छ भन्ने कसैलाई जानकारी छैन । उनीहरूले साधारण सभा समेत गरेको पाइँदैन । बचतकर्ताको बचत सङ्कटमा पर्ने भएकाले बचतकर्तालाई पनि सचेत गराएका हौँ ।’ उनले त्यस्ता सहकारी तुरुन्तै नगरपालिकामा सूचीकृत हुन नआए सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!