मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक जडान भएको ट्राफिक लाइटको औपचारिक उद्‌घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा जडान गरिएको लाइटको आज बिहान उद्‌घाटन गरिएको हो ।

Advertisement

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक लाइटको उद्‌घाटन गरे । मन्त्री अधिकारीले यसबाट सवारी आवागमनका साथै पैदलयात्रीलाई पनि सहज हुने बताए । उनले भने, ‘सडक दुर्घटनालाई न्यूनीकरणका लागि ट्राफिक लाइटले ठूलो भूमिका खेल्छ । अन्य आवश्यक स्थानमा पनि जडान गर्ने प्रक्रियामा छौँ ।’

अत्यधिक दुर्घटना हुने स्थानमा ट्राफिक लाइट र जेब्रा क्रस निर्माणको कामलाई निरन्तरता दिने उनले उल्लेख गरे । सडक अनुशासन कायम गराउन विद्यार्थीहरूलाई स्वयंसेवकको रूपमा खटाएर सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको उनले बताए ।

बरगाछी अत्यधिक दुर्घटना हुने क्षेत्र भएकाले ट्राफिक लाइट सञ्चालनमा आएसँगै दुर्घटना न्यूनीकरण हुने स्थानीयले पनि विश्वास लिएका छन् । यसको प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने स्थानीय राज तिम्सिना बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर सुमन न्यौपानेले ट्राफिक लाइट सञ्चालनमा आएसँगै दुर्घटना न्यूनीकरण हुने बताए । यसलाई प्रभावकारी बनाउन केही समय लाग्ने उनको भनाइ छ । उनले भने, ‘सुरुवाती दिनमा धेरैजना ट्राफिक लाइट बारेमा अनभिज्ञ भएको पाइएको छ । हामीले सकेसम्म सम्झाउने बुझाउने गरिरहेका छौँ ।’

धेरैजना यसमा अनभिज्ञ भएकाले नियम उल्लङ्घन भए एक महिनासम्म कुनै कारबाही नगरिने उनले बताए । त्यसपछि भने प्रकृति हेरेर जरिवाना गर्ने या सम्झाएर बुझाएर छाड्ने भन्ने यकिन हुने उनको भनाइ छ ।

उनले भने, ‘यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थीहरूलाई स्वयंसेवकको रूपमा खटाएर उनीहरूलाई पनि यसबारे विज्ञ बनाउने योजना छ । यसले अन्य व्यक्तिलाई पनि नियम सिकाउन उल्लेख्य भूमिका खेल्छ ।’ अन्य स्थानमा पनि ट्राफिक लाइटको आवश्यकता रहेकाले महानगरसँग पहल गरिरहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!