सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनको भाडादर वृद्धि गरेको भन्दै व्यवसायीले विरोध गरेका छन् । व्यवसायीले आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाले मनोमानी ढङ्गले भाडावृद्धि गरी मर्कामा पारेको भन्दै विरोध गरेका हुन् ।

Advertisement

बसपार्कस्थित नगरपालिकाको स्वामित्वमा रहेको व्यापारिक भवन भाडामा लगाइएको छ । उक्त भवनमा १३ जनाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले आफूहरूलाई मर्कामा पार्ने गरी नगरपालिकाले भाडा वृद्धि गरेको गुनासो गरेका छन् ।

नगरपालिकाले खुल्ला प्रतिस्पर्धाको नाममा धनकुटा नगरपालिका–७ मा रहेको लकान्द्रीबन्धु कन्ट्रक्सन एण्ड सप्लायर्स मार्फत ठेक्का लगाएको थियो । कम्पनीले १८ लाखमा ठेक्का पारी व्यवसायीलाई आवश्यकताभन्दा बढी भाडादर बढाएर मर्कामा पारेको व्यवसायी खगेन्द्र सुवेदीले बताए ।

व्यवसायीहरू लामो समयदेखि नगरपालिकासँग सम्झौता गरेर उक्त भवनमा भाडामा बस्दै आएका छन् । कतिपय व्यवसायीले १५ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका छन् । नगरपालिकाले प्रत्येक दुई आर्थिक वर्षको अन्त्यमा १० प्रतिशत भाडादर वृद्धि गर्नुपर्नेमा यसपटक ८० प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेको जानकारी पत्राचारमार्फत आएको व्यवसायीको भनाइ छ ।

नगरपालिकामा जाँदा नगर प्रमुखले सहजीकरण गर्ने प्रतिवद्धता जनाएको तर एक साता बितिसक्दा पनि केही पहल नभएको व्यवासायीले बताएका छन् । समस्या समाधान नभए कानुनी प्रक्रिया अनुसार अगाडि बढ्न समेत तयार रहेको उनीहरूको भनाई छ ।

कतिपय व्यवसायीले भाडा अत्यधिक बढाइएको भन्दै व्यवसाय छाडिसकेका छन् । चर्को महङ्गी, व्यापारमा देखिएको तीव्र गिरावट तथा मन्दीको समयमा व्यापारिक भवनको भाडादर अझै सुलभ हुनुपर्नेमा झन् दोब्बर बढाउँदा आफूहरू मर्कामा परेको व्यवसायी सुजित प्रधानले बताए । यसबारे व्यवसायीहरूले यसबारे उद्योग वाणिज्य सङ्घ धनकुटाको ध्यानाकर्षण गराएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!