सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–८, मुगामा रहेका मौलिक संरचनायुक्त घरहरू संरक्षण अभावमा बेस्याहार बनेका छन् । दुई सय वर्षभन्दा पुराना कलाकौशल सहितका घरहरू संरक्षणको पर्खाइमा छन् ।

Advertisement

तत्कालीन मुगा गाविस–४ र साबिक पाख्रीबास नगरपालिका–८ मा पर्ने मुगामा रहेका यी घर संरक्षण नहुँदा मासिने अवस्थामा पुगेका छन् । ‘मुगाली थापा’ भनेर यहाँका थापाहरु चर्चित छन् । दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जन्म गाउँ यही हो ।

थापाले पाँच पटकसम्म मुलुकको कार्यकारी नेतृत्वमा रहेर काम गरेका थिए । यही ठाउँमा रहेको उनको घरको अहिले नामनिशान भेटिँदैन । थापाको ५२ ढोका भएको ऐतिहासिक घर द्वन्द्वकालमा माओवादीले बम बिस्फोट गरी क्षति पुर्याएका थिए । उक्त घर भएको ठाउँ अहिले झाडीमा परिणत भएको छ ।

चर्चित व्यक्तित्वहरू अजितनारायण सिंह थापा, अर्जुन थापा र सुनिलबहादुर थापा पनि सोही ठाउँमा जन्मिएका हुन् । अजितनारायण र अर्जुनको घर पनि संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।

मुगामै जन्मे पनि बसाइ बाहिर भएको र यहाँ बेलाबखत मात्र आउने गरेका कारण संरक्षण नभएको स्थानीय चन्द्रमणि घिमिरेले बताए । यस ठाउँका पुराना तथा पुरातात्विक महत्व बोकेका घर संरक्षण गरी मुगालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समेत सकिने घिमिरेले बताए ।

मुगाका कप्तान करवीर थापाले इलाममा चिया विस्तार गरेको इतिहास समेत पाइन्छ । इलाममा बसोबास गर्दैगर्दा करवीरको आवतजावत गर्ने क्रम दार्जिलिङतिर हुन गएको र दार्जिलिङतिरबाट उनले टाटाको टिन ल्याएर घर बनाएको अग्रजहरु बताउँछन् । त्यसपछि मुगामा दरबार शैलीका घरहरु बन्न थालेको पाइन्छ ।

मुगामा बनेका ठूला र दरबार शैलीका घर आकर्षक भए पनि संरक्षण अभावमा पुराना घर जीर्ण बन्दै गएको स्थानीय कपिलराज थापाले बताए । मुगाली थापाले निर्माण गरेका मौलिक वस्तुकला सहितका संरचना दरबार शैलीका थिए । त्यसताकाको नेपाली कलाकौशल झल्काउने संरचना उनीहरूको बसाइँ सराइपछि रेखदेख गर्ने मानिसको अभावमा खण्डहर बन्दै गएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!