मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि खनिएका छन् । प्रदेशसभा सचिवालयमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले मुख्यमन्त्री कार्कीमाथि विभिन्न आरोप लगाउँदै सङ्घर्षमा उत्रने चेतावनी पनि दिए ।

Advertisement

पूर्वमुख्यमन्त्री कार्कीले आफूले सुरुवात गरेका महत्वपूर्ण कामहरू हालका मुख्यमन्त्रीले निरन्तरता नदिएर ‘इगो’ साँधेको आरोप लगाए । उनले बजेटका विषयमा मुख्यमन्त्रीको लाचारी पन देखिएको उल्लेख गरे ।

उनले भने, ‘अहिलेको बजेटमा सेटिङ नै सेटिङ देखिन्छ । सरकार जनताको हो । तर अहिलेको सरकारले जनताका विषयमा सोचेन । सेटिङमा चुर्लुम्मै डुब्यो । जनता केन्द्रीत बजेट हुन सकेन ।’

उनले सरकार र नेतालाई जनताले गाली गर्नु नौलो कुरा नभएको र यसमा चिन्ता लिन नपर्ने बताए । उनले भने, ‘हामी जनताले गाली गरे भन्छौँ । यसमा आपत्ति जनाउने ठाउँ छैन । जनता केन्द्रीत बजेट ल्याउँदैनौँ, करको सही प्रयोग गर्दैनौँ । अनि गाली त गरिहाल्छन् नि । मुख्यमन्त्री यस विषयमा लाचार देखिनुभयो ।’

सरकार फेरबदलसँगै आफ्नो कार्यकालमा थालिएका जनमुखी कार्यक्रमलाई ओझेलमा पार्ने र बजेट कटौती गर्ने काम भएको उनले बताए । उनले अहिलेको सरकारले कार्यकर्तामुखी योजनालाई जोड दिएर २५ हजार बजेटसम्मका कार्यक्रम अघि सार्नु प्रदेशकै दुर्भाग्य भएको उल्लेख गरे ।

उनले भने, ‘हामीले जनमुखी, जनअपेक्षित र सोझै जनताको घर दैलोसम्म लग्ने केही राम्रा कामको सुरुवात गरेका थियौँ । तर सङ्घमा आएको राजनीतिक परिवर्तनको बाछिटा प्रदेशमा पनि परिहाल्ने परिपाटीले सरकार फेरबदल भयो । जसका कारण आफूले सुरु गरेका जनमुखी कार्यक्रम ओझेलमा परे ।’

हालको कोशी सरकारले आफूले सुरुवात गरेका महत्वपूर्ण कार्यक्रमलाई त्यही स्वरूपमा अगाडि नबढाए जस्तोसुकै सङ्घर्ष गर्न पछि नपर्ने उद्घोष गरे । उनले सङ्घर्ष कस्तो खालको हुन्छ भन्ने नखुलाए पनि अनशन बस्ने सम्मको खुलासा गरे ।

पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचार, जसको जंगल उसको मंगल ‘जनावर मैत्री जंगल’, महिला स्वास्थ्य स्वंयमसेविकाहरूलाई प्रोत्साहन, विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिलगायतका कार्यको सुरुवात गरेका थिए ।

यस्ता महत्वपूर्ण विषयमा हालको सरकारले चासो नदिएर अनावश्यक ठाउँमा बजेट छुट्याएको उनले बताए । ‘मैले बजेट पढेको छु’, पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘१५ करोडभन्दा बढी रकम सवारी साधन खरिदमा छुट्याउन सक्ने अनि यस्ता महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता नदिने भन्ने हुन्छ ।’

आफूले ल्याएका कार्यक्रमबाट जनता लाभान्वित भएको दाबी गर्दै उनले यसलाई जसरी पनि समेटिनुपर्ने बताए । ‘सरकार जसको भएपनि जनताको लागि हुनुपर्छ’, उनले भने ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!