मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगरको श्री हस्पिटलमा बिरामीलाई बन्धक बनाएको छ भन्ने जानकारी आयो । जानकारी पाएपछि हस्पिटल गएर बुझ्दा एक युवा डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि अस्पतालको बेडमै थिए । उनी रहेछन्, मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु । उनी डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि हस्पिटलमै छन् । विराटनगरको हस्पिटल चोकस्थित श्री हस्पिटलको जेनेरल वार्डको बेड नम्बर ४ मा रहेका उनी कहिले घर जान पाइएला भन्ने आशमा छन् । अहिले उनको साथमा आमा मरियम टुडु, श्रीमती निर्मला टुडु र सानो बच्चा छन् ।

Advertisement

हस्पिटलले कहिले जान दिन्छ भन्ने प्रतीक्षामा उनीहरू बसेका छन् । हस्पिटलले साउन ७ गते डिस्चार्ज दिएपनि रकम बुझाउन नसक्दा घर जान दिइएको छैन । पैसा बुझाउन नसक्दा हस्पिटलले बन्धक बनाएको रञ्जितका बुबा सर्दुल टुडुले संगालोखबरलाई बताए ।

रञ्जितलाई पेटमा समस्या देखिएपछि गत असार २८ गते भर्ना गरिएको थियो । अप्रेशनपछि अस्पतालले उनलाई साउन ७ गते डिस्चार्ज दियो । तर आर्थिक रूपमा विपन्न टुडु परिवारले डिस्चार्जपछि पनि बिरामी घर लान पाएका छैनन् । बिरामीका बुबा सर्दुलले भने, ‘कोशी अस्पतालमा दुई दिन राखियो । कोशीले अर्कै अस्पतालमा लग्नु भनेपछि विराट टिचिङ लग्ने सोच बनाएका थियौँ । तर एम्बुलेन्स चालकले राम्रो उपचार हुन्छ भनेर यहाँ ल्याइदिए ।’ तर अहिले हस्पिटलले छोरा घर ल्याउन नदिएको उनको भनाइ छ ।

फोन सम्पर्कमा उनले भने, ‘दैनिक मजदुरी गरेर गुजारा चलाउँदै आएका छौँ । भएको सबै पैसा बुझाई सकियो । घरमा भएका खसीबाख्रा पनि बेचियो । अहिले म घर आएर छिमेकीहरूसँग ऋण खोजिरहेको छु । ऋण पनि पाउन सकेको छैन । एकदमै समस्या भएको छ ।’ हस्पिटलमा १ लाख ४५ हजार र फार्मेसीमा २० हजार रकम बुझाइसकेको उनले बताए । उनले थपे, ‘अब फार्मेसी र हस्पिटलको गरेर करिब २ लाख बुझाउन बाँकी छ भनेका छन् । पैसा ल्याउने उपाय नै केही छैन । अस्पताल प्रशासनमा सुरुमा नै कति खर्च लाग्छ भनेर सोध्दा ८० हजारमा हुन्छ भनेका थिए । फेरि पछि १ लाख २० हजार लाग्छ भने ।’

लामो समयदेखि हस्पिटलको बसाइले थप समस्या भएको बिरामीकी आमा बताउँछिन् । अहिले खानको लागि पनि समस्या भइसकेको उनको भनाई छ । उनी भन्छिन्, ‘बुढा पैसा जोहो गर्न घर जानु भएको छ । तर केही उपाय लागेको छैन । अझै कति दिन यहाँ बस्नुपर्ने हो थाहा छैन ।’ उनले हस्पिटलले धम्कीपूर्ण शैलीमा पैसा छिटो बुझाएर बिरामी घर लग्न दबाब दिइरहेको दुखेसो पोखिन् ।

यस विषयमा बुझ्न जाँदा अस्पताल प्रशासनले संगालोखबरकर्मीलाई पैसाको प्रलोभनमा पार्न खोज्यो । त्यसको प्रतिवाद गर्दा प्रशासन प्रमुख सुनिल रायले भने, ‘जस्तो मन लाग्छ त्यस्तै समाचार लेख्नू ।’ उनले भर्खरै हस्पिटल सञ्चालनमा आएको भन्दै आफूहरूबाट कुनै कमजोरी नभएको जिकिर गरे । उनले भने, ‘अन्य हस्पिटलमा नभएपछि यहाँ ल्याएको रहेछ । बिरामीको आन्द्रा फुटेको थियो । आन्द्रा काटेर जोडियो । आइसियुमा ६ दिन राखियो । अहिले उहाँ बेडमा हुनुहुन्छ ।’ हस्पिटलले बिरामीलाई साउन ७ गते डिस्चार्ज दिएको उनले स्वीकार गरे । तर उनले  बिरामीका आफन्तको नै कमजोरी देखाएका छन् । उनले भने, ‘हामीले लानु भनिरहेका छौँ । तर उहाँहरूले नै लान मान्नु भएको छैन ।’

हस्पिटलले बिरामीलाई डिस्चार्ज भएर पनि घर जान नदिएको पाएपछि साउन १० गते जिल्ला प्रशासन कार्यालयले पनि पत्र काटेर छुट गरेर पठाउन भनेको छ । प्रशासन प्रमुख राय भन्छन्, ‘हामीले उहाँलाई छुट गरिदिएका छौँ । तर फार्मेसीको पैसा बुझाउन नसकेर उहाँहरू रोकिनु भएको हो । समस्या हाम्रो हैन । फार्मेसीमा पैसा बुझाउन नसकेका कारण रोकिनु भएको हो ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!