विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली काङ्ग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरुको सङ्ख्या धेरै भएपछि प्रदेश समितिले टुङ्गो लगाउन सकेको छैन । मन्त्रीहरूको अन्तिम टुंगो प्रदेश समितिसँग परामर्श गरी पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले लगाउने नेताहरूले बताएका छन् ।
यसका लागि पार्टीको कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि मापदण्ड बनाएर त्यसैअनुसार केन्द्रीय समितिमा जानकारी गराएको छ । विराटनगरमा हिजो बसेको समितिको बैठकले मन्त्रीको नाम छनोटका लागि मापदण्ड बनाएर केन्द्रलाई जानकारी गराएको हो ।
काङ्ग्रेस प्रदेश समिति सभापति उद्धव थापाका अनुसार मन्त्री बन्नका लागि कार्यक्षमता, जातीयता, लैङ्गिकता र भौगोलिकतालाई आधार बनाइनुपर्ने मापदण्ड बनाइएको छ । त्यसैअनुसार केन्द्रलाई जानकारी गराइएको उनले बताए ।
सभापति थापाका अनुसार प्रदेश सभामा रहेका काङ्ग्रेसका २९ जना सांसदमध्ये धेरैजना मन्त्रीका लागि आकांक्षी देखिएपछि मापदण्ड बनाएर सिफारिस गरिएको हो । ती मापदण्डका आधारमा केन्द्रीय नेतृत्वसँग परामर्श गरेर मन्त्रीहरूको टुंगो लगाइने उनले जानकारी दिए ।
सत्तामा शक्ति बाँडफाँट गर्ने क्रममा काङ्ग्रेसले चारवटा मन्त्रालय पाउने सम्भावना छ । मुख्यमन्त्रीसहित एमालेका पाँचजना सरकारमा सहभागी हुनेछन् ।
यसैबीच, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा बनेको समीकरण अनुसारै अघि बढ्ने बताएका छन् । हिजो विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्लोपटक बनेको समीकरणका आधारमा अघि जानेमा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच सहमति भएको बताएका थिए ।
मुख्यमन्त्री कार्कीले ९ वटा मन्त्रालयमा बाँडफाँट गर्दा शक्ति सङ्ख्याको आधारमा ४ र ५ हुने भन्दै त्यसैअनुसार सरकार बन्ने बताएका थिए । मुख्यमन्त्रीसहित नेकपा एमालेका पाँचजना सरकारमा रहने र काङ्ग्रेसबाट चारजना सहभागी हुने उनले जानकारी दिएका थिए ।
केन्द्रमा जस्तै आलोपालो गरेर अघि बढ्छौंः मुख्यमन्त्री कार्की