संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा बनेको समीकरण अनुसारै अघि बढ्ने बताएका छन् । पछिल्लोपटक बनेको समीकरणका आधारमा अघि जाने भन्ने कुरा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच सहमति भएको उनको भनाइ छ ।

Advertisement

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । ‘कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा चाहिँ राजनीतिक कुराहरू माथिबाट जे टुङ्गिन्छ हामी त्यसैमा जान्छौं’ उनले भने, ‘नेतृत्वमा आलोपालो जस्ता कुरा राजनीतिक कुरा हो ।’

नेतृत्वमा आलोपालोको कुरा केन्द्रीय नेतृत्वले गरेअनुसारै प्रदेशमा पनि लागू गरेर जाने मुख्यमन्त्री कार्कीले उल्लेख गरे । प्रदेशमा मन्त्रालयको सङ्ख्या भने नबढाउने उनले जानकारी दिए ।

‘प्रदेशमा अहिले मन्त्रालयको सङ्ख्या बढाउँदैनौ’ उनले भने, ‘हाल रहेका ९ वटा मन्त्रालयमा बाँडफाँट गर्दा शक्ति सङ्ख्याको आधारमा ४ र ५ हुन्छ, त्यसैअनुसार सरकार बन्छ ।’ मुख्यमन्त्रीसहित नेकपा एमालेका पाँचजना सरकारमा रहने र काङ्ग्रेस त्यसभन्दा एक कमको सङ्ख्यामा सहभागी हुने मुख्यमन्त्री कार्कीले बताए ।

यसरी अघि बढ्नेमा दुई पार्टीबीच सहमति भएको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूले आफ्नो सबै प्रक्रिया पूरा गरेर आउनुभयो भने सरकारमा सहभागिता एक दुई दिनभित्रै हुन्छ । यसमा समस्या छैन ।’

अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेसको बीच सहमति गरेर सरकार बनाएर अगाडि बढ्ने उनले बताए । अन्य विषयहरूमा छलफल गरेर टुंगो लगाइने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

अर्को प्रसङ्गमा उनले प्रदेशको बजेट पास भइ कार्यान्वयनमा गइसकेकोले यसमा पुनरालोकन नहुने उल्लेख गर्दै आवधिक समयमा नमिलेको बजेटलाई कानुन बमोजिम सच्याउने सकिने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!