मोहन ढकाल/संगालोखबर

विराटनगर । बनिसकेको घर एक ठाउँबाट अर्को ठाउँमा सार्न र उचाइ बढाउन सकिन्छ । धेरैलाई यो असम्भव र अचम्म लाग्न सक्छ । प्रविधिको प्रयोगले यो सम्भव देखिएको छ ।

Advertisement

‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि मार्फत जमिनबाट घरको उचाइ बढाउन सहजै सार्न सकिन्छ । छिमेकी देश भारतमा करिब दुई दशकदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ । नेपालमा पनि केही वर्षदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ ।

यतिबेला यही प्रविधि प्रयोग गरेर विराटनगर–११ बसपार्क छेउको एउटा घरको उचाई बढाउने काम धमाधम भइरहेको छ । सडकभन्दा कम उचाइमा रहेको घरलाई चार फिट माथि उठाइँदै छ । वर्षायाममा पानीले दुःख दिएपछि घरको उचाइ बढाउने काम भइरहेको हो । भारतीय कम्पनी एलबीएल हाउस लिफ्टिङ कन्ट्रक्सनले घर उठाउने काम गरिरहेको छ । दुईतले भवनलाई चार फिट उठाउने काम लगभग सकिएको र अबको केही दिनमा पूरै काम सकिने इन्जिनियर लालचन कुमार गुप्ताले बताए । 

उनले भने, ‘हामीले काम थालेको डेढ महिना भयो । एक दिनमा ३५ जनाले काम गरिरहेका छन् । अब १८ दिनसम्ममा पूरै काम सकिन्छ ।’ उनले नेपालका विभिन्न स्थानमा यस्तो काम गरिसकेको बताए । घरको क्षेत्रफल र तलाको आधारमा खर्च कति लाग्छ भन्ने निर्धारण हुने गुप्ता बताउँछन् । एक तले घरको ३ सय, दुई तलेको ३ सय र तीन तलेको ९ सय वर्गफिट लागत लाग्ने इन्जिनियर गुप्ताले सुनाए । उनले पिल्लर बिनाका घरलाई पनि सहजै उचाल्न सकिने बताए । सुरुमा पिल्लर काटेर जग लगाउने र विस्तारै पर्खाल लगाउँदै जग उठाउने गरिएको इन्जिनियर गुप्ताले बताए ।

घर उठाउन फलामे बिमहरूको प्रयोग गरिन्छ । घरको भित्री भाग खनेर माटो निकालेपछि फलामे बिम राखेर घरलाई विस्तारै उठाइन्छ । घर उठाइसकेपछि जगदेखि बेसबीम बीचमा नयाँ संरचना निर्माण गरेर पिलरमा जडान गरिने गुप्ताले बताए । यो प्रविधि केही खर्चिलो भएपनि घरमा कुनै किसिमको कमजोरी नहुने उनको दाबी छ । उनले विराटनगरको शनिमन्दिर, बरगाछीसहित दुहबी, लहान, जनकपुर, काठमाडौँ लगायतका स्थानमा पनि घर उठाइसकेको बताए । उनले नेपालमा पाँच वर्षमा १५० भन्दा बढी घर उठाइसकेको दाबी गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!