मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर–१३ रानीस्थित बाल माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणमा अनियमितता भएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समिति तथा निर्माण समितिले आज पत्रकार सम्मेलन गर्दै भवन निर्माणमा अनियमितता भएको आरोप लगाएको हो ।

Advertisement

४५ लाख बजेटमा निर्माण भएको भवनको प्रधानाध्यापकले ५१ लाखको बिल देखाएपछि अनियमितता भएको र सोही बिलको फरफारक नहुँदा दोस्रो चरणमा प्लास्टरका लागि आएको ६ लाख भुक्तानी महानगरले नगरेको विद्यालय व्यवस्थापन समिति र निर्माण समितिको गुनासो छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा चार कोठे भवन निर्माणका लागि ४५ लाख ससर्त अनुदान विद्यालयले पाएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र महतोका अनुसार भवन निर्माणका लागि समिति गठन गरेर काम सुरु भयो ।

‘प्रधानाध्यापक अभिनन्दन यादवले महानगरले तीन किस्तामा पैसा पठाउने तर सुरुमा पैसा नआउने भएकाले उधारोमा सामान किन्नुपर्छ भन्नुभयो’, समिति अध्यक्ष महतोले भने, ‘प्रधानाध्यापक, वडाध्यक्ष र समितिका साथीहरू संयुक्त रूपमा हार्डवेयर गयौँ । तर हार्डवेयरवालाले उधारोमा सामान दिन मानेनन् ।’ हार्डवेयरले उधारोमा सामान दिन नमानेपछि प्रधानाध्यापकसँग तपाईँ आफैँ सामान किनेर ल्याउनु भनेर मौखिक सहमति भएको महतोले बताए । सहमतिपछि प्रधानाध्यापकले सबै सामग्री ल्याएको र उक्त सामानको भुक्तानी पनि प्रधानाध्यापकले नै गरेको उनले उल्लेख गरे ।

उनी सम्झन्छन्, ‘भवनको शिलान्यासदेखि निर्माण सम्पन्न हुँदासम्मको सबै खर्च प्रधानाध्यापक यादवले नै गर्नुभयो । निर्माण समितिले काम मात्र गर्यो । उहाँले ९० प्रतिशत काम सकिँदा पनि दुई किस्ताको रकम मात्र आएको र अन्य काम सकिएपछि मात्र आउँछ भन्नुहुन्थ्यो ।’  पहिलो र दोस्रो किस्ता बापत ११ लाख २५ हजार र तेस्रो किस्ता बापत २२ लाख ५० हजार आउनुपर्ने भएपनि काम सुरु भएको ६ महिनासम्म पनि २२ लाख २५ हजार आउन बाँकी भनेर प्रधानाध्यापकले समितिलाई झुक्याएको उनको भनाइ छ ।

निर्माण सम्पन्न भएपछि फरफारकको लागि व्यवस्थापन समिति र निर्माण समितिले बैठक बोलाएर प्रधानाध्यापकलाई बिल भौचर पेश गर्न भनेको उनले बताए । तर प्रधानाध्यापकले ५१ लाखभन्दा बढीको बिल पेश गरे । उनले भने, ‘हामीलाई कुनै जानकारी बिना उहाँले बढी रकमको बिल पेश गर्नुभयो । हामीले फरफारक गर्दैनौं भनेपछि बैठक स्थगित भयो । त्यसपछि पुनः अर्को बैठक बोलाइयो । त्यसमा फेरी अर्को रहस्य खुल्यो ।’

अर्को बैठकमा बैङ्कको स्टेटमेन्ट हेर्दा सबै रकम दुई किस्तामा नै आएको पाइएको तर प्रधानाध्यापकले कसैलाई जानकारी नगराएको रहस्य बाहिरिएको उनको जिकिर छ । काम सुरु हुनु अगावै अर्थात २०७९ माघ २५ गते ११ लाख २५ हजार र २०८० असार ५ मा ३३ लाख ७५ हजार विद्यालयको बैङ्क खातामा आइसकेको रहेछ । यो विषयमा प्रधानाध्यापक यादवसँग समितिले सोध्दा म्यासेज नआएका कारण आफूले थाहा नपाएको भन्दै पञ्छिन खोजेको समितिका पदाधिकारीहरू बताउँछन् ।

प्रधानाध्यापक यादवले चेक काटेर भुक्तानी गरेको तर समितिलाई सूचनाबाट बञ्चित गरेको ठहर गर्दै निर्माण समिति  र विद्यालय व्यवस्थापन समितिले फरफारक नगरेको उनले बताए । पुनः आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रपति शैक्षिक सुधार अनुदान कार्यक्रम अन्तरगत ४ कोठे भवन प्लास्टर र झ्याल–ढोका निर्माणका लागि ६ लाख बजेट २०८० पुस मसान्तमै पास भयो । २०८१ जेठ ७ गते महानगरपालिकासँग सम्झौता भएर जेठ २५ गतेबाट प्लास्टरको काम सुरु भएर असार २३ गते काम सम्पन्न भयो । असार २४ गते फरफारक गरी सोही दिन नै वडा कार्यालयबाट सिफारिस लिएर महानगरपालिकाको शिक्षा शाखामा लिएर जाँदा प्रमुख कृष्ण भट्टराईले फाइल लिन नमानेको विव्यस अध्यक्ष महतोले बताए ।

उनले भने, ‘उहाँले फायल पेश गर्न ढिलो भयो भनेर फर्काइदिनुभयो । उहाँले योजनाको पैसा पाउनुहुन्न भन्नुभयो । पुनः कार्यकारी अधिकृतकोमा जाँदा उहाँले शिक्षा शाखाको नाममा तोक लगाइदिनुभयो । २६ गते फायल दर्ता भयो र २७ गते भवनको प्राविधिकद्वारा लागत इष्टिमेट निकाल्ने काम भयो । अध्यक्ष र प्रधानाध्यापकको हस्ताक्षर पनि भयो ।’ तर पहिलाको ४ काठे भवनको फरफारकमा हस्ताक्षर दोस्रो योजनाको भुक्तानी नहुने कुरा आएको उनले बताए । पहिलाको योजना फरफारक नगरी दोस्रो योजना दिएर अहिले आफूहरूलाई समस्यामा पारेको उनको भनाइ छ । पहिलाको योजनामा बढी बिल देखिएकाले आफूहरूले हस्ताक्षर नगर्ने उनले बताए ।

महानगरले भुक्तानी रोकेपछि मजदुरको पैसा समेत दिन नपाएकाले थप समस्या भएको उनले बताए । काम गरेका मजदुरहरू अहिले घरमा धाएर भुक्तानी मागिरहेकाले महानगरले यस विषयमा यथाशीघ्र बिचार गर्न महानगरलाई आग्रह गरेका छन् । महानगरले निर्माण समितिलाई अप्ठ्यारोमा पारेको र पैसा भुक्तानी नगरेको खण्डमा विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने उनीहरूको भनाइ छ । ४५ लाख फरफारक नगरे विद्यालयलाई माविबाट निमाविमा घटुवा गर्ने धम्की समेत आइरहेको निर्माण समितिका बिहारी महतोले बताए । यसबाट आफू पछि नहट्ने र प्रधानाध्यापक र शिक्षा शाखाको बदमासीलाई त्यसै नछाड्ने उनको चेतावनी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!