मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशका वन रक्षक आन्दोलित बनेका छन् । गत साउन ६ गतेबाट सम्पूर्ण कामकाज ठप्प पार्दै उनीहरू आन्दोलित बनेका हुन् । सहायक स्तर तेस्रो तह कायम गरिनुपर्नेलगायत माग अघि सार्दै उनीहरु आन्दोलित बनेका हुन् ।

Advertisement

चौथो तहमा पदपूर्ति गर्दा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता तथा कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाको समेत व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप शसक्त बनाउँदै लगिने र रिले तथा आमरण अनशन बस्ने वनरक्षक हकहित संरक्षण सङ्घर्ष समिति कोशी प्रदेश सचिव सुरेन्द्र थलाङले बताए ।

माग सम्बोधनका लागि २४ घण्टे अल्टिमेटम राखेर गत ६ गते विज्ञप्ति जारी गरेको बताउँदै उनले भने, ‘हामीले प्रदेशका सम्पूर्ण डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश वन निर्देशनालयमा ज्ञापन पत्र पनि बुझायौँ । तर हाम्रो माग सम्बोधनमा कसैले चासो देखाएको छैनन् ।’ अरू प्रदेशमा जस्तै वन रक्षकलाई तेस्रो पद कायम गरिनुपर्ने उनले बताए । अग्रपङ्तिमा बसेर काम गर्नुपर्ने भए पनि कोशी प्रदेशको निजामती सेवा ऐन २०७९ मा कोशी प्रदेशमा कार्यरत वन रक्षक कर्मचारीहरूको वृत्तिविकास हुने प्रावधान नसमेटिएको उनले बताए ।

अन्य प्रदेशले निजामती सेवा ऐनमा वन रक्षक पदलाई सहायक तेस्रो तह कायम गरी वृत्तिविकासको समेत मार्ग प्रशस्त गरिए पनि कोशी प्रदेशले अप्राविधिक आधारभूत तहमा राखेर वृति विकासको समेत प्रावधान नराखेको उनले बताए । यस विषयमा गत मङ्सिरदेखि नै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको सचिव थलङले बताए ।   राज्यले प्राविधिक पद भनेर स्वीकार गरेको, अन्य प्रदेशको प्रदेश निजामती सेवा ऐनमा वन रक्षकलाई तेस्रो तहमा राखिएको छ भएपनि कोशीले आफूहरू माथि अपमान गरेको उनले बताए । प्रदेश सरकारले वन रक्षकलाई कार्यालय सहयोगीको हैसियतमा राखेर वृत्तिविकासको अवसर पनि ठप्प पारेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उनले बताए ।

खोटाङमा कार्यरत राजन ढकालले कोशी सरकारले वन रक्षकको वृत्ति विकास रोकेर अन्याय गरेको बताए । सङ्घीय निजामती सेवा ऐनले दिएको अधिकारबाट प्रदेशले वञ्चित गरेको उनले उल्लेख गरे । निरन्तर आवाज उठाएपनि सुनुवाइ नभएको भन्दै उनले माग सम्बोधन नभएसम्म काम ठप्प पारेर आन्दोलन जारी राख्ने बताए ।

प्रदेशका १४ वटै जिल्लाका १५ वटा डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक आन्दोलनमा सामेल छन् । अहिलेसम्म त्यहाँका प्रतिनिधि मात्रै आन्दोलनमा उपस्थित भएपनि केही दिनबाट सबै वन रक्षक आन्दोलनमा सरिक हुने उनले बताए । झापामा कार्यरत वन रक्षक कर्णबहादुर विक योग्यता र क्षमता भएपनि आफूहरूलाई अगाडि बढ्न प्रदेश सरकारले रोकेको बताए । गत पुसदेखि नै यस विषयमा ध्यानाकर्षण गर्दा पनि कुनै पनि सुनुवाइ नभएको बताए । आगामी दिनमा आन्दोलनलाई थप सक्रिय बनाउने उनले बताए ।

पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका उपसचिव तथा प्रवक्ता धुव्रकुमार भण्डारीले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनले यस विषयमा आफूले केही बताउन नसक्ने र सचिव आएपछि मात्र थाहा हुने प्रतिक्रिया दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!