सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पङ्ख्यक आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको कामले गति लिएको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको सङ्ग्रहालयको काम धमाधम भइरहेको हो ।

धनकुटा नगरपालिका–४ स्थित बिहिवारे हटिया छेउमा सङ्ग्रहालय निर्माणको काम भइरहेको छ । धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो । 

Advertisement

तीन वर्षअघि थालिएको उक्त सङ्ग्रहालय निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । सङ्घीय तथा प्रदेश सरकार तथा धनकुटा नगरपालिका मार्फत दुई करोड ८ लाख रुपैयाँ लागतमा भवन निर्माणको काम भइरहेको छ ।

पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राईको पहलमा २०७८ सालमा ५० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट सङ्ग्रहालय निर्माणको काम थालिएको आठपहरिया समाजका नेपालका केन्द्रिय महासचिव कोमल किम्दाङ आठपहरियाले बताए ।

सङ्ग्रहालयको पहिलो तलामा एउटा हलसहित चारवटा कोठा र माथिल्लो तल्लामा चारवटा सहित जम्मा १० वटा कोठा रहेका छन् । सङ्ग्रहालय पुरानो शैलीमा खरको छानोबाट निर्माण गरिएको छ ।

धनकुटामा आठपहरिया जातिको जनसङ्ख्या करिब ६ हजार ८ सय छ । उक्त सङ्ग्रहालयमा आठपहरिया जातिको कला संस्कृति, भेषभूषा, भाषा, धार्मिक तथा पुरातात्विक महत्वका वस्तुहरू राखिने जनाइएको छ । यस्तै, आठपहरिया जातिले लगाउने गरेका परम्परागत गहना पनि राखिने छ ।

यो समुदायले प्रयोग गर्ने वाद्यवादन, हतियार, भाँडाकुँडा जस्ता वस्तुसमेत संग्रह गरिने आठपहरिया समाजका नेपालका केन्द्रीय महासचिव किम्दाङ आठपहरियाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!