सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मीका कृष्णबहादुर विश्वकर्मा आफ्नो पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी गरिरहेका छन् । काठका विभिन्न हस्तकला सामग्रीलाई आधुनिक रूप दिएर उनले मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

Advertisement

महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गा घर भएका विश्वकर्माले धनकुटाको हिलेमा कोसेली घर एण्ड पञ्चकन्या घरेलु ठेकी, तोङ्बाका भाँडा बनाउने उद्योग सञ्चालन गरेका छन् । २०६३ सालमा कामको खोजीमा मलेसिया पुगेका कृष्णबहादुर एक महिनापछि अवैधानिक ढङ्गले बस्नुपर्‍यो । कम्पनीले काम गरेको पैसा नदिनुका साथै घर फिर्ता पनि नपठाएपछि करिब साढे ४ वर्ष उनी मलेसियामै अवैधानिक रुपमा बस्नु परेको थियो ।

मलेसियामा रहेका नेपालीको सहयोगबाट उनी स्वदेश फर्कन सफल भए । अनि गाउँमै आएर पुर्ख्यौली पेशा सुरु गरे । खुकुरी, ठेकी बनाउन सुरु गरी हाल उद्योग सञ्चालन गरिरहेका छन् । उद्योगलाई चाहिने आवश्यक काठ ओखलढुङ्गा र स्याङ्जाबाट ल्याउने गरेका छन् । हिलेमा उनले सञ्चालन गरेको उद्योगमा आठ जनाले रोजगारी पनि पाएका छन् ।

कृष्णबहादुरले खुकुरी, बाँस र काठबाट काइँयो, ठेकी, सम्मानपत्रको फ्रेम, ओखल, पुसइ, फ्रुट स्ट्याण्ड, बाँसको सामग्रीबाट बनाइएको पर्दा, कप, वाइन गिलास, मायाको चिनो जस्ता थुप्रै सामग्री बनाउँदै आएका छन् । करिब २ लाख ५० हजार रुपैयाँ लगानीमा उनले उद्योग सुरु गरेका थिए । अहिले उनले १० लाखको सामान जोडिसकेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा बाँस तथा हस्तकला सम्बन्धी १८ वटा उद्योग दर्ता भएका छन् । यस्ता उद्योगहरूलाई आवश्यक सीपमूलक तालिम साथै प्रविधि हस्तान्तरण गरिँदै आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!