मोहन ढकाल/संगालोखबर


विराटनगर । सुनसरीको दुहबी नगरपालिका–९ की दुखनी खातुनलाई छोरीको विवाहका लागि पैसाको आवश्यकता पर्यो । कुरा २०७५ सालको हो । उनले रङ्गेली रोडमा रहेको राजश्री सेभिङ्ग्स एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटीबाट जग्गा धितो राखेर कर्जा लिइन् । २०७५ फागुन १७ गते दुई कठ्ठा १० धुर जग्गा धितो राखेर २ लाख ५० हजार कर्ता लिइन् ।

आफूले लिएको कर्जा तिरिसक्दा पनि सहकारीले अझै रकम तिर्न बाँकी छ भनेर उनीसँग रकम माग्यो । कारण, उनी बिचौलियाको फन्दामा परिछन् । सहकारीको मिलेमतोमा खातुनलाई चेकमा औँठाछाप गर्न लगाएर इन्द्रनारायण मण्डल नाम गरेका व्यक्तिले लेखपढ गर्न नजान्ने खातुनलाई हस्ताक्षर गर्न लगाएछन् ।  सहकारीले थप ७ लाख ५० हजार निकासा प्रक्रिया मिलाएको रहेछ भन्ने कुरा पछि मात्र थाहा पाइन् । २ लाख ५० हजार ऋण लिएपनि सहकारीको मिलेमतोमा मधुवनका मण्डलले आफ्नो नाममा चेक जारी गराएर रकम लिएका रहेछन् । मण्डल सहकारीका सञ्चालक बैजनाथ साहका नजिकका मान्छे भएको पछि खुल्न आएको खातुनले बताइन् ।

Advertisement

मण्डल पैसा लिएर फरार भएको पछि खातुनका छोराहरूले थाहा पाए । उनका छोरा फिरोज आलमले पत्रकार सम्मेलनमा भने, ‘सहकारीको मिलेमतोमा लेखपढ गर्न नजान्ने आमालाई औँठाछाप गर्न लगाएर बढी पैसा निकालेछन् । फरार मण्डललाई ४ वर्षपछि फेला पारियो । मण्डलले ७ लाख १६ हजार बराबरको चेक आफूले लिएर २ लाख ५० हजारको चेक आमालाई दिएका रहेछन् ।’

आफूले लिएको कर्जा चुक्ता गरिसकेपछि पनि सहकारीले जग्गा लिलामी गर्ने भन्दै पटक–पटक पत्र काटेपछि मण्डलले पैसा लिएर फरार भएको घटना बाहिरिएको उनले बताए । उनीहरूले मण्डललाई भेटे । मण्डलले २०८० असार १ गते १० लाख ऋणको २३ लाख ५२ हजार ८ सय ९८ रुपौयाँ सहकारीमा भुक्तानी गरे । तर सहकारीले पुनः बदमासी गरेको पीडित खातुनले बताइन् । ‘आफूलाई लेखपढ गर्न नआएका कारण उनीहरूले भनेअनुसार नै गरेँ’, उनले भनिन्, ‘तर अनेक जालझेल गरेर उनीहरूले फाइदा उठाएछन् ।’

मण्डलले ऋण बुझाएपछि सहकारीले चुक्ता भयो भनेर कागज दिएको भएपनि पुनः तिर्न बाँकी देखाएर पत्र पठाएको छोरा आलमले बताए । २०८० असार २६ गते विष्णु शर्माका नाममा सहकारीले ९ लाख ४४ हजार रुपैयाँ पठाएको देखिएको उनले बताए । यसैगरी, दोस्रोपटक असार २७ गते ३ लाख ७५ हजार रुपैयाँ पनि शर्माको खातामा पठाएको देखिएको उनले बताए । सहकारीले शर्मालाई बिना सहीछाप पैसा पठाएको देखिएको उनले बताए ।

उनले भने, ‘२०८० असार १ गते नै कर्जा चुक्ता भएपनि असार २६ मा १० लाख तिर्न बाँकी छ भनेर सहकारीले पत्र पठायो । यो सहकारीको ठगी हो ।’ सहकारीले ऋण चुक्ता नगरेको पत्र पठाएपछि मण्डललाई भेटेर कुरा गर्दा ऋण चुक्ता भएको थाहा पाएको उनले बताए । उनले भने, ‘पहिला मण्डललाई खडा गरेजस्तै सहकारीले अहिले शर्मालाई खडा गरेर चलखेल गरिरहेको छ ।’ उनले आफूहरूले लिएको ऋण चुक्ता भएकाले जग्गा फिर्ता हुनुपर्ने बताए । न्याय पाउनका लागि विभिन्न निकायलाई गुहारिरहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!