मोहन ढकाल/संगालोखबर
कुटपिटको विरोधसहित दोषीमाथि कारबाही गर्न माग गर्दै क्याम्पस प्रशासनललाई ज्ञापनपत्र बुझाइँदै ।

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका शिक्षाशास्त्र संकायका उपप्राध्यापक अर्जुन तामाङ २०८० साउन ४ गतेबाट सञ्चालित स्नातक तह दोस्रो वर्षको परीक्षामा आन्तरिक पर्यवेक्षक थिए । उनले विद्यार्थीले ‘चिट चोरेको’ पाएपछि उत्तरपुस्तिका खोसेर कारबाहीका लागि केन्द्राध्यक्ष समेत रहेका तत्कालीन क्याम्पस प्रमुख डा. बाबुराम तिम्सिनालाई बुझाएका थिए । परीक्षाफल प्रकाशन भएपछि ती विद्यार्थी ‘एक्सफेल्ड’ भई परीक्षा नतिजा आएको भन्दै गत बिहीबार उपप्राध्यापक तामाङमाथि विद्यार्थीको समूहले दुर्व्यबहार गर्यो ।

कार्यकक्षमा काम गरिरहेको अवस्थामा एमालेनिकट अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष माधव पासवान, उपाध्यक्ष तथा स्ववियु सदस्य रिन्कु चौधरी सहितको समूहले तामाङलाई परीक्षार्थीको चिट खोसेको भन्दै कुटपिट गरेका थिए । उनीहरूको समूहले हातपात गरेको, गालीगलौज तथा अपशब्द बोलेको र कार्यालयको सिसा र टेबल समेत फोडेको क्याम्पसले जनाएको छ । सोही विषयलाई लिएर अखिल (क्रान्तिकारी) को क्याम्पस कमिटीले दुःख व्यक्त गरेको छ ।

Advertisement

विज्ञप्ति जारी गर्दै गुण्डागर्दी शैलीमा उपप्राध्यापकलाई कुटपिट गर्ने समूहलाई तत्काल कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न क्याम्पस प्रशासनसँग माग गरिएको छ । अराजक समूहमाथि तत्काल कारबाही नभएको खण्डमा कडा प्रतिबाद गर्ने र उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने संगठनले विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, नेपाल राष्ट्रिय प्राध्यापक संगठन महेन्द्र मोरङ इकाइले पनि घटनाप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । उपसभापति नारायण दाहालद्वारा जारी विज्ञप्तिमा विद्यार्थीहरूले उपप्राध्यापक माथि गरेको दुर्व्यबहार घोर निन्दनीय र आपतिजनक भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियमावलीअनुसार पर्यवेक्षकले केन्द्राध्यक्षको निर्देशनअनुसार परीक्षालाई मर्यादित बनाउने काममा केन्द्राध्यक्षलाई सहयोग गरिएको हुन्छ । पर्यवेक्षलाई विद्यार्थी ‘एक्सफेल्ड’ गर्ने अधिकार नभई केंद्राध्यक्षलाई हुन्छ । तर पनि विद्यार्थीहरूबाट निज सरलाई दुर्व्यवहार गरेको कार्यका लागि सिंगो महेन्द्र मोरङ क्याम्पस प्रशासन र परीक्षा प्रणालीमाथि प्रश्न खडा भएको छ ।’

संगठनले दुबै पक्षलाई बोलाएर सत्यतथ्य बुझेर समस्या समाधान गर्न क्याम्पस प्रशासनसमक्ष माग गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!