मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशीलाई ‘पूर्णखोप सुनिश्चितता प्रदेश’ घोषणा गरिएको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् ।

Advertisement

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा भएकोमा खुसी व्यक्त गरे ।

यो सबैको सामूहिक प्रयासमा सफल भएको उनले उल्लेख गरे । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप छुट्न नहुने उनले बताए । उनले भने, ‘बालबालिकाले १६ महिनाभित्र १३ वटा खोप पाउने उनीहरूको अधिकार हो । यो अधिकारबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर हामी चनाखो हुनुपर्छ ।’

मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत् सबैलाई साधन–स्रोत सीमितता, जनशक्ति अभाव, राज्यले दिनुपर्ने सेवासुविधाको कमी भए पनि राष्ट्रसेवक कर्मचारी भएका कारण अनेक समस्या पन्छाएर पनि यस काममा अगाडि बढ्न आग्रह गरे ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सबै खोपहरू नियमित रूपमा लगाउन आग्रह गरे । उनले भने, ‘कुनै पनि स्थानमा खोप लगाउन छुट्नु भएन । सबै खोप लगाउनुको अर्थ महामारीबाट प्रभावित हुनु नपरोस् भन्ने हो ।’

आर्थिक वर्ष २०८०/८१ म प्रदेशभित्र ०–१५ महिना भित्रका ८० हजार ९ सय ३ जना बच्चा र १६–५९ महिनाका १ लाख ९२ हजार २ सय ५३ जना गरी कुल २ लाख ८३ हजार १ सय ८३ जना बच्चा खोजि खोप विश्लेषण अनुगमन गरिएको स्वास्थ्य निर्देशनालय धनकुटामा निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । जसमध्ये कुनै पनि खोप शुरु नगरेका १९५ जना र खोप सुरु गरेर पूरा नगरेका ५ हजार ५१ जनालाई खोजेर खोप पुरा गरिएको उनले बताए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार अन्तर्गतका स्वास्थ्यकर्मीहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू, राजनैतिक दल, साझेदार संस्था र अन्य सरोकारवालाहरूको सहयोगमा प्रदेशलाई पूर्णखोप सुनिश्चित गर्न सकिएको उनले बताए ।

सोही अवसरमा प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखलाई पूर्ण खोप सुनिश्चितता जिल्लाको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!