मोहन ढकाल/संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गरी बोर्डले भोलि आइतबार उनीहरूलाई नगदसहित सम्मान गर्ने जनाएको हो ।

अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरिने बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले जानकारी दिए । सोही अवसरमा खेलकुद क्षेत्रमा कलम चलाउने ९ जना पत्रकारहरूलाई पनि नगदसहित सम्मान गरिने उनले बताए ।

Advertisement

उनले आफुले नेतृत्व पाएको दुई महिनाको छोटो अवधिमा १० वटा प्रदेशस्तरीय खेलकुद विभिन्न जिल्लामा सम्पन्न गरेको जानकारी दिए । बोर्डले प्रदेशस्तरीय पुरुष फुटबल, राष्ट्रिय कुरास, महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण, प्रदेशस्तरीय कबड्डी, प्रदेशस्तरीय पौडी, महिला फुटबल, शारीरिक सुगठन, मुख्यमन्त्री कप महिला राष्ट्रिय भलिबल र प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगिता छोटो समयमै सम्पन्न गरेको सदस्य सचिव बस्नेतले बताए ।

बस्नेतले आगामी वर्ष खेलकुदको बार्षिक क्यालेण्डर अनुसार नियमित प्रतियोगिता गर्नुका साथै प्रदेशका विभिन्न जिल्लामा ३० वटा खेलकुद प्रतियोगिता सम्पन्न गर्ने बताए । सिंगो खेल क्षेत्रलाई अन्याय हुने भएकाले यसपटक हतारमा काम गर्नु परेकाले आलोचना समेत खेप्नु परेको उनको भनाइ थियो । आगामी दिनमा यस्तो नहुने समेत उनले उल्लेख गरे ।

जिल्ला खेलकुद विकास समितिहरूमा आवश्यक खेल प्रशिक्षकहरूको व्यवस्था गरेर प्रदेशमा खेलाडी उत्पादनलाई प्राथमिकतामा राखी बोर्डले काम गर्ने उनले बताए । बस्नेतले विराटनगर–१९ मा रहेको वैजनाथपुर रंगशालालाई केन्द्रसँग समन्वय गरेर प्रदेश सरकारको मातहतमा ल्याउन र निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने बताए ।

आगामी वर्षदेखि खेलाडीको उत्पादन गर्न ग्रासरुट कार्यक्रमलाई प्राथमिकतामा राखेर नियमित प्रतियोगिता सञ्चालन गर्ने र विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई पनि विशेष जोड दिने सदस्यसचिव बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!