सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । जालपादेवी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वृषबहादुर राईले आफूलाई पाख्रीबासका नगरप्रमुख ज्ञानबहादुर गुरुङले दुर्व्यवहार गरेको बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले आफूलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरिएको बताएका हुन् ।

Advertisement

पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी क्याम्पसमा नगरबाट आर्थिक वर्ष ०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन भएको थियो । सोही अनुसार भएको कामबारे कागजी अभिलेखसहित नगरमा पेश गरिएको थियो । असार २३ गते क्याम्पस प्रमुख लोकेन्द्र पौडेल र अध्यक्ष राई उक्त रकम भुक्तानीका लागि नगरपालिका पुगेका थिए ।

त्यसबेला नगर प्रमुख गुरुङ नभेटिएको राईले बताए । आर्थिक वर्षको अन्तिम भुक्तानी असार २४ गते गरिसक्नु पर्ने भएकाले उनीहरु नगरपालिका पुगेका थिए । त्यहीबेला बाहिरबाट आइपुगेका नगरप्रमुख गुरुङले गाडीबाट ओर्लिएर ‘कति पैसा चाहिन्छ ?’ भन्दै धम्कीको भाषा प्रयोग गरेको साथै पर्सबाट केही पैसा निकालेर फालेको अध्यक्ष राईले बताए ।

‘भुक्तानी किन रोकिएको भन्ने बुझ्न आएको जानकारी दिंदा पैसा भुईँमा फालेर अपशब्द बोल्दै दुर्व्यवहार गरियो’ उनले भने । गाडी चालकलाई प्रयोग गरी आफूमाथि हातपात र गालीगलौज गरिएको राईको भनाइ छ । त्यसैगरी सामाजिक सञ्जालमा आफ्नोबारे नगर प्रमुखले गलत सूचना फैलाएको समेत उनले बताए ।

क्याम्पस प्रमुख पौडेलले समुदाय स्तरबाट स्थापित भएको क्याम्पस सञ्चालनमा कठिनाई भएकाले पालिकाको सहयोग महत्वपूर्ण हुने बताए । तर विनियोजन भइसकेको रकम भुक्तानी माग्दा नराम्रो व्यवहार गर्नु उचित नभएको उनले उल्लेख गरे । व्यक्तिको चरित्र हत्या गर्ने, गुण्डागर्दी शैलीमा प्रस्तुत हुँदै सार्वजनिक स्थानमा सेवाग्राहीलाई अभद्र व्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिइएको उनले बताए ।

नगरपालिकाले भने क्याम्पस प्रशासनले समयमै विनियोजित रकमबाट कार्यक्रम सम्पन्न नगरेकाले भुक्तानी दिन नसकिएको जनाएको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै हप्कीदप्की गर्दै भुक्तानी लिने मनसायले अराजक र उदण्ड तवरले राष्ट्रसेवक कर्मचारीलाई गाली गर्ने, धम्की दिने, काम कारबाहीमा बाधा पुर्याई सेवा प्रवाहमा खलल पुर्याउने, कार्यालयमा तालाबन्दी गर्ने जस्ता काम गरिएको जनाएको छ । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राईले त्यस्तो व्यवहार गरेको भन्दै नगरपालिकाले पनि कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!