सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाका दुग्ध किसानले सात महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले १३ करोड रुपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजना विराटनगरले दुधको रकम भुक्तानी नदिएपछि उनीहरु समस्यामा परेका छन् ।

Advertisement

जिल्लाका अधिकांश क्षेत्रमा दुध उत्पादक किसानहरु छन् । छथरजोरपाटी गाउँपालिका–१ स्थित हात्तीखर्क दुग्ध उत्पादनक सहकारी संस्था लिमिटेडमा दैनिक १ हजार लिटरभन्दा बढी दुध संकलन हुने गरेको छ । उक्त सहकारीमा दैनिक १ सय २५ जना किसानहरुले दुध बिक्रीका लागि ल्याउने गरेका छन् । दुध प्रतिलिटर ६५ रुपैयाँमा बिक्रीे हुने गरेको छ ।

दुध बेचेर दैनिक घरव्यवहार चलाउने गरेको भए पनि महिनौंदेखि भुक्तानी नपाउँदा किसानहरु समस्यामा परेका हुन् । रकम नपाउँदा अन्नपात समेत किन्न नसक्ने अवस्थामा पुगेको धनकुटा महालक्ष्मी नगरपलिकाका नारद कटुवालले बताए ।

समस्या सुल्झाउने क्रममा आफूहरु सरकारसँग बारम्बार वार्तामा बसिसकेको कटुवालले बताए । वार्तामा केही महिनाभित्रै दुधको भुक्तानी दिने भनिए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ । सरकारले आश्वासन मात्र दिने गरेको कटुवालको भनाइ छ ।

सम्बन्धित निकायमा आफ्ना समास्या पटकपटक पुर्याउँदा एकले अर्कालाई देखाउदै पन्छिने गरेको छथरजोरपाटी गाउँपालिकाका किसान लालबहादुर कार्कीले बताए । दुग्ध वितरण आयोजनाले भने किसानहरुलाई विभिन्न कारण देखाउँदै आलटाल गरिरहेको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालयका अनुसार धनकुटामा ८४ वटा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड छन् । जिल्लामा दैनिक करिब ३३ हजार ७ सय २० लिटर दुध उत्पादन हुने गर्दछ । उक्त परिमाणमध्ये केही स्थानीय स्तरमै खपत हुन्छ भने बढीजसो निर्यात हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!