सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गरिएको छ । बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चित भएपछि आज एक कार्यक्रमका बीच पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

Advertisement

राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको जनाइएको छ । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले घोषणपत्र पढ्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए ।

जिल्लाका ७ स्थानीय तहका १५ महिना सम्मका २ हजार ४ सय २१ र १६ देखि ५९ महिनाका ६ हजार ६ सय ९३ गरी कुल ९ हजार १ सय १४ बालबालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको उनले बताए ।

एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । धनकुटालाई २०७१ पुस ३० गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै आइएको छ ।

यस घोषणाले नेपाल सरकारको पूर्णखोप सुनिश्चित राष्ट्र बनाउने लक्ष्यलाई थप बल पुगेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख योगराज घिमिरेले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य निर्देशनालय प्रमुख ज्ञानबहादुर बस्नेत, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिका र सहिदभूमि, छथरजोरपाटी, चौबिसे र साँगुरीगढी गाउँपालिकाका स्वास्थ्य शाखालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!