संगालोखबर

सुनसरी । सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रामजी तिम्सिना तीन दिनदेखि सम्पर्कविहीन बनेका छन् । आफूले ‘जलसमाधि’ लिन लागेको भन्ने लेखेर उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् ।

Advertisement

परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिइएको उनका आफन्तले बताएका छन् । घरबाट हिंड्नुअघि उनले कागजको सानो टुक्रामा ‘म वराहक्षेत्रमा जलसमाधि लिँदैछु । अलबिदा’ लेखेर छाडेको पाइएको प्रहरीले जनाएको छ ।

अंग्रेजी विषयमा विद्यावारिधि गरेका तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीस्थित कोशी कलेजमा अध्यापन गर्दै आएका थिए । साहित्यिक क्षेत्रमा पनि सक्रिय उनी समालोचकका रुपमा चिनिन्थे ।

परिवार, आफन्त र प्रहरीले उनको खोजी गरिरहेका छन् । आज बिहानसम्म पनि उनको केही पत्तो लागेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले परिवारबाट उनी सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी भइरहेको जानकारी दिए ।

‘जलसमाधि लिन जाँदैछु भन्ने लेखेर घरबाट हिंड्नुभएको रहेछ’ भण्डारीले संगालोखबरसँग भने, ‘हामी परिवारको साथमा छौं, घटनाबारे जानकारी पाएलगत्तै उहाँको खोजी कार्य अघि बढाएका छौं ।’

यसैबीच, उनका आफन्त, विद्यार्थी, सहकर्मी, चिनजानका धेरैले सामाजिक सञ्जालमा सम्पर्कविहीन भएको खबरले दुःखी बनाएको उल्लेख गर्दै चाँडै सम्पर्कमा आउन आग्रह गरिरहेका छन् । उनका आफन्त केदारप्रसाद तिमल्सेनाले फेसबुकमा लेखेका छन्–

‘वहाँ मेरो मात्र आफन्त हैन, सिंगो सुनसरी र देशको अभिभावक हो । बुधवारदेखि समालोचक डा. रामजी तिम्सिना ‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर बेपत्ता हुनुभएको छ । कृपया सबैले खोजिदिनु होला । तपाईंको बौद्धिकताले अहिले विराम लिन पाउँदैन दाई, कृपया सकुशल फर्किनोस् ।

यसैगरी, बर्षा भण्डारीले पनि तिम्सिना बेपत्ता भएको खबरले दुःखी भएको जनाएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उहाँ एउटा लेखक, कविको रुपमा मैले चिनेको । बेपत्ता हुनुभएछ । छिटै भेटिनुहोस् ।’

आफू तिम्सिना सरको विद्यार्थी भएको उल्लेख गर्दै युनिसा कार्की नेम्बाङ लक्ष्मीले लेखेकी छन्, ‘सर, हजुरको बौद्धिकता र मार्गदर्शनको हामी नयाँ पुस्ताका युवाहरुलाई सदैव खाँचो छ । तपाईं हामीलाई सत्मार्गमा डोहोर्याउने एक अभिभावक हुनुहुन्छ । हाम्रा लागि भए पनि जहाँ हुनुहुन्छ सकुशल फर्किदिनुस् सर, हामी प्रतीक्षामा छौं तपाईंको । मजस्ता कयौं विद्यार्थीहरुको आदर्श व्यक्ति हुनुहुन्छ तर तपाईं यो भरासा र आशालाई कायम राख्नलाई भए नि चाँडै सम्पर्कका आइदिनुस् सर । हामीलाई साँच्चै खाँचो छ सर तपाईंको ।’

यसैगरी, नवराज मैनालीले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्–

‘डायस्पोरा साहित्यका विज्ञ डा. रामजी तिम्सिना असार १९ गते बिहानबाट म जलसमाधि लिँदैछु भनी बेपत्ता भएका छन् । प्रहरीको रिपोर्टअनुसार बराहक्षेत्र टावर देखाउँछ । कहिलेकाहीँ हाम्रो राजनीति र नेपाली साहित्यसम्बन्धी बहस हुने गर्थ्यो । समाजमा आलोचना गर्ने, आलोचना सहने दुवै हुनुपर्छ । रामजी सर त्यस्तै खरो समालोचक हुनुहुन्छ । अहिले उहाँले किन आफ्नै ज्यान फाल्न तम्सिरहनु भएको छ त्यो उहाँ व्यक्तिलाई भन्दा पनि समाजलाई ठूलो क्षति हुन्छ । मान्छे जन्मनु ठूलो कुरा होइन जन्मेको मानिसले समाजलाई के दियो भन्ने कुरा महत्वपूर्ण रहन्छ । मान्छे जो पायो त्यो मान्छे हुँदैन मान्छेको स्वरुप मात्रै हुन्छ तर मान्छे बन्न परिवार अनि व्यक्ति स्वयंले ठूलो भूमिका खेलेको हुन्छ र त्यसले समाज र राज्यलाई बोकेर हिँडेको हुन्छ अनि त्यो त्यसका पछि मान्छेहरुले विश्वास, भरोसा र आशा लिएको हुन्छ । हो त्यस्तै समाजले पत्याएका, भरोसा गरेका विश्वास जितेका आशा राखेका व्यक्ति हुन् रामजी तिम्सिना ।

तर हामी भन्छौं यत्रा विद्वानले यसो नगरेको भए हुन्थ्यो, उसो नगरेको भए हुन्थ्यो, सल्लाह सुझाव धेरै दिन्छौं अथवा हामी जान्ने पल्टन्छौं । व्यक्तिको आफ्नो व्यक्तिगत जीवन अध्ययन बिना प्याच्च बोल्छौं ।

रामजीको आफ्नैभित्र पीडा थियो, आफ्नैभित्र कथा थियो होला मलाई पनि केही जानकारी थियो तर उनको व्यक्तिगत जीवनमा कहिल्यै चासो राखिनँ । राख्नु पनि हुँदैन किनकी आफूले केही गर्न कसैका लागि सकिँदैन भने बढी जान्ने पनि पल्टिनु हुँदैन । आज हाम्रो समाजको हालत त्यही छ अरुको पारिवारिक जिवनमा हस्तक्षेप गर्न पुगिहाल्छौं । संघर्षका तीनवटा पाटा हुन्छन्– वर्ग संघर्ष, पारिवारिक संघर्ष, आत्मा संघर्ष । सबैभन्दा पेचिलो आत्मा संघर्ष हो । सायद रामजी आत्मा संघर्षमा चुके होलान् र उनले जीवनलाई बलिदान दिन खोजेका होलान् । खैर, जेसुकै भए पनि रामजी सर तपाईं सकुशल हुनुहुन्छ भने घर फर्कनुहोस् हामी छौं तपाईंको साथमा ।’

यसैगरी, तिम्सिनाका साहित्यकार मित्र विमल वैद्यले यस्तो लेखेका छन्–

‘एउटा असल मित्र लेखक तथा समालोचक प्राध्यापक डाक्टर रामजी तिम्सिनाले यस्तो काम नगरेको भए हुने थियो । १९ गते बुधबार बिहान कोशी किनार बराहक्षेत्रमा जलसमाधि लिन जाँदैछु भनेर सुसाइड नोट लेखेर इटहरी घरबाट हिँड्नु भयो । बिहान ६.२५ मा आफ्नी आमासँग फोन सम्पर्क गर्नुभयो । हिजो दिउँसोसम्म फोन बजिरह्यो उहाँको । आजसम्म उहाँ सम्पर्कभन्दा टाढा हुनुहुन्छ । यत्तिका मान्छेले जीवनलाई यतिसम्म निरीह नबनाइदिएको भए हुने थियो । महेन्द्र कलेज, धरान र कोशी कलेज इटहरीलाई टुहरो बनाएर छोड्नु हुन्न थियो । रामजी सर अझै त आश गरौं तपाईं फर्कनुहोला भनेर ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!