मोहन ढकाल/संगालोखबर

विराटनगर । गाडी चलाएर परिवार चलाइरहेका पति सवारी ज्यान तथा अंगभंग कसुरमा कारागार परेपछि दैनिक गुजारामा समस्या भएको पत्नी तारा वाइवाले बताएकी छन् । आज पत्रकार सम्मेलन गरी उनले दुई छोरी र आफू समस्यामा परेको बताएकी हुन् ।

Advertisement

विराटनगर–१५ का प्रेम वाइवा रिजालको ग्यास उद्योगमा ट्रक चालकको काम गर्थे । सदाझैँ २०७७ फागुन १९ गते बिहान ग्यास लोड गरिएको ट्रक लिएर उनी झापाको काँकडभिट्टातर्फ लागेका थिए । सुरुङ्गामा गाडी दुर्घटनामा पर्यो । तीनवटा सवारी ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

वाइवाले चलाएको को १ क १६८४ नम्बरको ट्रक, प्र. १–०४–००१ च ०१६७ नम्बरको कार र प्र. ०१–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । कारमा सवार दुई जनाको मृत्यु भएको थियो भने मोटरसाइकलमा सवार घाइते भएका थिए ।  सोही दुर्घटनामा पुरपक्षका लागि थुनामा रहेका ट्रक चालक वाइवालाई सवारी ज्यान तथा अंगभंग कसुरमा झापा जिल्ला अदालतले २०८० मङ्सिर २८ गते ९ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । वाइवा चन्द्रगढी कारागारमा भएको र स्वास्थ्य समस्याका कारण मासिक औषधि खर्च जुटाउनुपर्ने लगायतका कारण परिवार समस्या भएको पत्नी ताराले गुनासो गरिन् ।

‘कम्पनीको गाडी हो । कम्पनीको काम गर्दा दुर्घटना भएको हो । यसमा कम्पनी जिम्मेवार हुनुपर्ने हो’, उनले भनिन्, ‘कम्पनीका साहुले कुनै चासो नदेखाउँदा पति कारागारमा बस्न बाध्य हुनुहुन्छ । पतिलाई जसरी पनि छुटाइदिनुपर्यो भन्ने हाम्रो माग छ ।’  उद्योग सञ्चालकले मासिक दिँदै आएको १० हजार रुपैयाँ पनि अहिले रोकिदिएपछि थप समस्या भएको छोरी करिना वाइवाले बताइन् । दुर्घटनाका घाइतेले पाउनुपर्ने क्षतिपूर्ति उद्योगले नदिएका कारण समस्या भएको उनीहरूको भनाइ छ । उद्योगले दुर्घटनामा घाइते भएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराए केही सहज हुने पीडित परिवारले बताएका छन् । उद्योगले यस विषयमा चासो नदेखाउँदा समस्या भएको उनीहरू बताउँछन् ।

गाडी चालक वाइवाले मासिक १८ हजार तलब पाउँथे । उद्योगले दुर्घटना मितिदेखिको पतिले पाउने सबै तलब उपलब्ध गराउनुपर्ने पत्नी ताराको माग छ । उद्योगले आश्वासन दिनेबाहेक अहिलेसम्म केही नगरेको उनले बताइन् । छिमेकी मिलन थापाले वाइवा परिवार समस्यामा परेका कारण यसको सहजीकरण गर्न उद्योगले चासो देखाउनुपर्ने बताए । आफ्नै कर्मचारीलाई उद्योगले गरेको व्यवहार उचित नभएको भन्दै अप्ठ्यारो परेका बेला मानवीय दृष्टिले पनि हेरिनुपर्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!