संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई अझ सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् । केन्द्र र प्रदेशभन्दा जनताका लागि सेवा प्रवाहमा स्थानीय तहको हुने भन्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशाला उद्घाटनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह जति धेरै सक्षम भयो जनताले उति नै बढी सेवा पाउने बताए ।

‘प्रदेशमा धेरै सेवा दिने ठाउँहरु छैनन्, जनतालाई प्रत्यक्ष सेवा दिने थलो स्थानीय तह नै हो,’ उनले भने, ‘त्यसैले जति धेरै स्थानीय तह सक्षम भयो उति नै जनताले बढी सेवा पाउँछन् ।’

जनतालाई न्याय दिने कुरा चानचुने नभएको उल्लेख गर्दै उनले कुनै एउटा राजनीतिक दलको चिह्नबाट निर्वाचन जितेर पक्षपाती नभइ न्याय दिनसक्नु ठुलो चुनौतीपुर्ण काम भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले न्याय सम्पादन गर्ने काम अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । जनताका कुरा सुनेर न्याय दिनु ठूलो जिम्मेवारी भएकाले स्थानीय तहका प्रमुखहरुले अधिकार दिएनन् भनेर गुनासो गर्नुभन्दा भएको संवैधानिक र कानुनी अधिकारको सदुपयोग गर्ने क्षमताको विकास गर्न उनले उपप्रमुखहरुलाई आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानिय तहका उपप्रमुखहरुको सहभागिता छ । कार्यशालामा न्याय सम्पादनमा देखिएका सामाजिक र राजनीतिक समस्या तथा चुनौती, कोशी प्रदेशका स्थानीय तहको न्याय सम्पादनको अवस्था, उपप्रमुख तथा उपाध्यक्षहरुले न्यायिक सम्पादन प्रक्रियामा भोगेका समस्या र चुनौती लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!