संगालोखबर

विराटनगर । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यसै अवसरमा काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा कोइरालाका जीवनसँग सम्बन्धित फोटो प्रदर्शनी गरिने भएको छ । गृहनगर विराटनगरलगायत देशका विभिन्न जिल्लामा पनि कोइरालाको स्मृतिमा कार्यक्रम गरिने पार्टीले जनाएको छ ।

Advertisement

भारतको सहर्सामा सन् १९२४ जुलाई ४ मा जन्मिएका कोइरालाको २०१० मार्च २० मा ८५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि पटक पटक प्रधानमन्त्री बनेका उनकै पालामा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेको थियो । उनका दुईजना दाजुहरु कांग्रेसका संस्थापकमध्येका एक बीपी कोइराला र मात्रिकाप्रसाद कोइराला पनि प्रधानमन्त्री थिए ।

कार्यक्रमका अवसरमा कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन् । २००७ सालदेखि २०६४ सालसम्मका इतिहासले समेट्ने फोटोहरू राखिने उनको भनाइ छ ।

यसैगरी कोइरालालाई विमर्शको केन्द्रमा राखेर बहस कार्यक्रम समेत हुने जनाइएको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहने छन् । यसैगरी, ‘समुन्नतिको दोस्रो जग’ विषयक बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झा सहभागी हुने भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!