संगालोखबर

धनकुटा । संघीय सरकारले धनकुटामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि करिब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीसहित विभिन्न मन्त्रालयबाट धनकुटाको विकासका लागि ७ अर्ब ९५ करोड ५ लाख बजेट विनियोजन भएको जानकारी दिएका हुन् ।

Advertisement

प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्री राईले सबै मन्त्रालयमार्फत् आफ्नो गृह जिल्ला धनकुटामा आएको बजेटको विवरण प्रस्तुत गरेका थिए । नियमित आउने बजेट भन्दा यस पटक निकै ठूलो बजेट जिल्लामा ल्याउँन पाउँदा धेरै खुसी लागेको भन्दै मन्त्री राईले अब जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गरे ।

‘मलाई धनकुटेली जनताले जिताएर पठाएको हुनाले पहिलो प्राथमिकता धनकुटा र धनकुटेली जनतालाई दिएर काम गरिरहेको छु,’ उनले भने, ‘धनकुटाको विकासका लागि निरन्तर प्रयत्न गरिरहेको छु, योपटक झण्डै ८ अर्ब बजेट ल्याउन सफल भएका छौं, यसले जिल्लाको विकासका लागि निकै ठूलो काम हुन्छ ।’

मन्त्री राईले खानेपानी मन्त्रालयबाट मात्रै धनकुटामा २ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २ अर्ब १० करोड र शहरी विकास मन्त्रालयबाट १ अर्ब ५ करोड बजेट आएको मन्त्री राईले जानकारी दिए ।

अन्य मन्त्रालयबाट पनि नियमित आउने भन्दा धेरै बजेट धनकुटामा आएको छ । खानेपानी मन्त्रालयबाट सहिदभूमि वृहत खानेपानी आयोजनाका लागि ७ करोड बजेट विनियोजन भएको छ । अरुण नदीबाट लिफ्टिङ प्रविधिमार्फत् घुमाउने डाँडामा पानी ल्याएर सहिदभूमिका सात वटै वडामा वितरण गर्ने योजना छ ।

छथर जोरपाटी वृहत् खानेपानी आयोजनाका लागि ९ करोड, धनकुटा बजारको खानेपानी व्यवस्थापनका लागि ७ करोड, महालक्ष्मी वृहत् लिफ्टिङ खानेपानी आयोजनाका लागि ६ करोड र पाख्रीबास भुल्के खानेपानीका लागि ३ करोड बजेट विनियोजन भएको छ । धनकुटामा खानेपानीका करिब ५० वटा आयोजनामा २ अर्ब ५० करोड बजेट आएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयबाट करिब १५ वटा सडक र चारवटा पक्की पुल निर्माणका लागि बजेट आएको छ । सिधुवा–जितपुर–लेगुवा हुँदै भोजपुर जोड्ने सडक कालोपत्रेका लागि बजेट विनियोजन भएको छ । पाख्रीबास–मुगा हुँदै घोडेटार जोड्ने सडक कालोपत्रेका लागि पनि बजेट छुट्टिएको छ ।

तमोर नदीमाथि तीनवटा पक्की पुल र अरुण नदीमाथि एउटा पक्की पुल निर्माण गर्न बजेट विनियोजन भएको छ । साँगुरीगढी र सहिदभूमिको सीमास्थित चिम्राहाघाट, पाख्रीवास र पौवादुम्वाको सीमास्थित अधेरीघाट, सहिदभूमि र साँगुरीगढीको सीमास्थित सफाइटार र धनकुटा नगरको छिम्सुवा र साँगुरीगढीको उखुवारी जोड्ने पक्की पुल बनाउन बजेट विनियोजन भएको मन्त्री राईले जानकारी दिए ।

त्यस अवसरमा मन्त्री राईले देशभरको खानेपानी समस्या हल गर्न आफू लागिरहेको भन्दै चाँडै सकारात्मक परिणाम देखिने जानकारी पनि दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!